इलाम । इलाममा ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय–११ स्थित तीनघरेमा २ दिने महोत्वस सुरु भएको हो ।
आदिवासीको मौलिक संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रदर्शनी, प्रवद्र्धन, उपयोग र बजारीकरणमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले सांस्कृतिक बाजा ‘ढोलक’ बजाएर गरे । उनले विभिन्न जातजातिको रहनसहन, भाषा, संस्कृति संरक्षण गर्न महोत्सवले सहयोग पुग्ने बताए ।
सोमबारसम्म सञ्चालन हुने महोत्सवमा रैथाने खानाका परिकारहरू राखिएका छन् । महोत्सवमा राई, लिम्बू, मगर, नेवार, तामाङ र लोपोन्मुख लाप्चा जातिका रैथाने खानाका परिकारका २० बढी स्टलहरू राखिएका छन् । महोत्सवमा वाचिपा, कोदो र फापरको रोटी, ढिँडो, गुन्द्रुक, तरुलजस्ता रैथाने खानाका परिकारहरू राखिएका छन् ।
महोत्सवमा आउने पाहुनाहरूलाई रैथाने खानाका परिकारहरू चखाउने गरिएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले बताए । महोत्सवमा विभिन्न जातजातिको लोप हुँदै गएका वस्तुलाई प्रदर्शनीमा राखिएको छ । यस्तै विभिन्न जातजातिको मौलिक सांस्कृतिक झाँकी तथा भेषभूषाहरू प्रदर्शनीमा राखिएका छन् ।
‘आदिवासी जनजातिको संस्कृतिको संरक्षण तथा रैथाने उत्पादनको प्रदर्शनी, प्रवद्र्धन, उपयोग र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो’, अध्यक्ष योल्मूले भने, ‘महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित झाँकी, भेषभूषा एवं रैथाने परिकारहरू प्रदर्शनमा राखिएका छन् ।’
महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा संघ, नेपाल शेर्मा समाज, नेपाल मगर संघ, लाप्चा उत्थान मञ्च, नेवाः दय दबु, नेपाल थामी समाज, तमू ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्माबाट सहभागिता छ ।
महोत्सवले नयाँ र पुराना पुस्ता मिलेर आदिवासी जनजातिको पुख्र्याैली कला, संस्कृति र परम्परा तथा रैथाने परिकारको संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्दै बजारीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको अर्को आयोजक संस्था सूर्योदय महिला मञ्चकी सचिव साधना फागोले बताइन् । १५ हजार बढीले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको उनले बताइन् ।
प्रतिक्रिया