३८ विधामा म्युजिक खबर अवार्ड

काठमाडौँ । विभिन्न ३८ विधामा म्युजिक खबर अवार्ड प्रदान र स्रष्टालाई सम्मान गरिएको छ । श्री केश ११औँ म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न भएको हो । शुक्रवार सम्पन्न सो अवार्ड वितरण समारोहमा २०८० मा प्रतिष्ठित गीतकार चूडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । साथै गीतकार देवकोटालाई ५१ हजार रुपैयाँसहित म्युजिक खबर दीर्घ साधना सम्मान अर्पण गरिएको सो अवार्ड वितरण कार्यक्रमकी संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

पाँच दशकभन्दा लामो समय गीत संगीत तथा साहित्यमा जीवन समर्पण गरेबापत उनको योगदानको सम्मानमा म्युजिक खबरले सम्मान गरेको उनले बताइन् । त्यसै गरी पप सम्राट् ओम विक्रम विष्टलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मान अर्पण गरिएको थियो । संयोजक पोखरेलका अनुसार नेपाल कला संस्कृति, गीत संगीत र साहित्यको श्रीवृद्धिमा विदेशमा रहेर पनि निरन्तर योगदान पु¥याएवापत उनलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिएको हो ।
त्यसै गरी तीन दशक लामो समयदेखि गायन, संगीत र संगीत संयोजनको माध्यमले योगदान पु¥याउने अशोक कुमार राईलाई म्युजिक खबर रजत संगीत सम्मान अर्पण गरिएको थियो ।

म्युजिक खबर दशक संगीत सम्मानबाट दुई जना स्रष्टालाई सम्मान गरिएको थियो । लोकगायक राजु परियार र लोक गायिका रिता थापा मगरलाई म्युजिक खबर दशक संगीत सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै गायक तथा सर्जक वैकुण्ठ महतलाई म्युजिक खबर युवा प्रतिभा संगीत सम्मान गरिएको उनले जानकारी दिइन् । त्यसै गरी बाल गायक अशोक दर्जीलाई म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान गरिएको थियो ।

त्यस्तै तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई म्युजिक खबर संगीत पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उनीहरूलाई ५,५५५ रुपैयाँसहित सम्मान गरिएको हो । त्यस्तै प्रवासमा रहेर पनि नेपालीहरूको सुख दुःखको सारथि बन्दै आएका व्यवसायी समाजसेवी विष्णु शाही ठकुरीलाई म्युजिक खबर सामाजिक व्यक्तित्व सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय, पप, आधुनिक, लोकदोहोरी, चलचित्र क्षेत्रका स्रष्टा कलाकारहरूको बिचमा अवार्ड सम्पन्न भएको थियो । अवार्डमा गायक कर्ण दास र गायिका संगीता राना प्रधान उत्कृष्ट आधुनिक गायक गायिका घोषित भएका थिए । गायक कर्ण दास प्रतीक्षा गीतबाट उत्कृष्ट गायक घोषित भएका हुन् भने संगीत राना प्रधान आँसुका कथाबाट उत्कृष्ट गायिका घोषित भएकी हुन् ।

त्यस्तै लोकदोहोरी विधातर्फ गायक राजु गुरुङ र गायिका सज्नु न्यौपाने उत्कृष्ट गायक गायिका घोषित भए । डुम्रे बजार गीतबाट गायक राजु गुरुङ र लामो कपालबाट गायिका सज्नु न्यौपाने उत्कृष्ट गायक गायिका लोकदोहोरी घोषित भएका हुन् । त्यसै गरी चलचित्रतर्फ गायक राजनराज सिवाकोटी र गायिका सत्यकला राई उत्कृष्ट गायक गायिका घोषित भएका हुन् । चलचित्र प्रसाद–२ को मार्सी धान गीतबाट राजनराज सिवाकोटी उत्कृष्ट भएका हुन् भने चलचित्र काँडे तारको काँडे तार शीर्ष गीतबाट गायिका सत्यकला राई उत्कृष्ट हुन सफल भएकी हुन् ।

कार्यक्रममा सम्मानित गीतकार राजेन्द्र थापा, सम्मानित गायिका तीर्थ कुमारी थापा, प्रतिष्ठित कवि तथा पूर्व मन्त्री एसपी कोइराला र पूर्वमुख्य सचिव विमल कोइराला लगायतको उपस्थिति थियो ।
उपरथी डा.आसबहादुर तामाङ, वरिष्ठ निर्देशक गीतकार प्रकाश सायमी, प्रतिष्ठित अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल र चैत्यदेवी सिंह, वरिष्ठ पत्रकार विजय रत्न तुलाधर, प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका पूर्व रजिस्ट्रार विसु कुमार केसी र वरिष्ठ गायिका देवीका वन्दनाको पनि उपस्थिति थियो ।

वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ निर्देशक, गायक तथा संगीतकार नारायण रायमाझी, आवाजको दुनियाँको साथी दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला र गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा पनि कार्यक्रममा उपस्थित थिए ।

यसै गरी रेडियो नेपाल बोर्ड सदस्य सिताराम पोखरेल, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र कलाकार संघका उपाध्यक्ष गोपालकाजी कायस्थ लगायत उपस्थित थिए ।

कार्यक्रममा मोडल नारायणी खत्री र रितु तामाङले सम्मानित स्रष्टाको गीतमा नृत्य प्रस्तुति रहेको थिए । मोडल विजय पुन र अन्जु गुरुङको समूहको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै गायक रामजी खाँड, गायक मौसम गुरुङ र गायिका कालिका रोका मगरले गीत प्रस्तुत गरेका थिए । त्यस्तै गायक सुरज कुमार थापाले सम्मानितहरूको ट्रिटब्यूटमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन गायिका मञ्जु पौडेल र पत्रकार नीराजन भण्डारीले गरेका थिए ।

श्री केश ११औँ म्युजिक खबर म्युजिक अवार्डमा विशिष्ट कला साधकहरूको सहभागिताले ११ औँ वर्षसम्म निरन्तरता पाएको र गीत संगीत क्षेत्रमा क्रियाशील स्रष्टा, कलाकारहरूलाई सम्मान तथा प्रोत्साहनको कार्य गर्न पाएकोमा म्युजिक खबर सदैव ऋणी रहेको अवार्डका अध्यक्ष सुमन पण्डितले बताए । अध्यक्ष पण्डितले कार्यक्रम सम्पन्न पार्न सहयोग पु¥याउने श्री केश हेयर आयल, अफिसियल टेलिभिजन प्रिज्मा टेलिभिजन, प्रयोजकहरू कृषि विकास बैंक, सूर्य नेपाल, नेपाल टेलिकम, आइआइएफटी फेसन, कामना सेवा विकास बैंक लगायतका प्रयोजकहरूलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया