कटहरियामा ५०० भन्दा बढी बिरुवा वितरण

रौतहट । जिल्लाको कटहरिया नगरपालिका– ८ कार्यालयले पाँच सयभन्दा बढी बिरुवा वितरण गरेको छ । वडालाई हरियो बनाउने अभियानको क्रममा वडाध्यक्ष समिशविक्रम शाहले पाँच सयभन्दा बढी बिरुवा वितरण गरेका हुन् ।

नगर स्तरीय योजनाबाट वडाका नागरिकलाई मुख्य रुपमा आँप र लिचीको बिरुवा वितरण गरिएको जनाइएको छ । रुख ठूलो भएपछि किसानलाई आम्दानी पनि हुने र वातावरणलाई सुरक्षा हुने भएकोले वडाका नागरिकलाई फलका बिरुवा वितरण गरिएको वडाध्यक्ष शाहले बताएका छन् ।

बिरुवा पाएपछि स्थानीय राम भरोस यादव निकै खुसी भएका छन् । वडा कार्यालयले बिरुवा उपलब्ध गराएपछि वडाको चिनोको रुपमा आफूले फल उत्पादन गरेर सबैभन्दा पहिले वडाध्यक्ष शाहलाई नै खुवाउने यादवले बताएका छन् ।

अर्का किसान वीरेन्द्र साहले पनि बिरुवा पाएपछि खुसी व्यक्त गरे । किसानलाई फलफूलको बिरुवा दिँदा किसानको आयसित जोडिने भएकोले आफूलाई फाइदा हुने साहले बताए । अन्य काममा वडाको लगानी भइरहेको भएजस्तै कृषिको क्षेत्रमा दिर्घकालीन आयसित जोडिएर फलफूलको बिरुवा वितरण गरिनु आफैँमा सबै दृष्टिकोणले राम्रो अभ्यास भएको साहले बताए ।

उन्नत जातको आँप र लिचीको बिरुवा पाएपछि सिकिन्द्र यादव र छोटेलाल यादवले पनि प्रसन्नता व्यक्त गरेका छन् । केही वर्षपछि उत्पादन हुन थाल्ने भएकोले फलफूलको बिरुवाले किसानको आयमा वृद्धि गरिने विश्वास आफूहरुले लिएको दुवै जनाले एकै स्वरमा बताए ।

वडाध्यक्ष शाहले किसानलाई उन्नत जातको फलफूलको बिरुवा उपलब्ध गराउँदै जाने र वडालाई फलफूलको खेतीको क्षेत्रमा पनि पहिचान गराउने सोच रहेको बताएका छन् । किसानहरुलाई फलफूलको खेतीबाट हुने फाइदाको बारेमा आफूले जानकारी गराइरहेको बताउँदै आँप र लिची खेतीबाट किसानले राम्रो आम्दानी गरिरहेको बताएका छन् ।

व्यावसायिक आँप र लिचीको खेती गर्ने किसानले सामान्य कृषिभन्दा कैयौँ गुना बढी आम्दानी गरिरहेको बताउँदै विस्तारै कृषिलाई आयमूलक बनाउन तथा किसानको हातमा नगद आउने बालीको प्रबर्धन गर्न फलफूल खेतीलाई प्रोत्साहन गरिनुपर्ने वडाध्यक्ष शाहको भनाइ छ ।

प्रतिक्रिया