जनसांस्कृतिक महासंघको अध्यक्षमा मल्ल निर्वाचित, यी हुन् पदाधिकारी

काठमाडौं । जनसांस्कृतिक महासंघ, नेपालको जेठ १७ देखि तीन दिनसम्म सञ्चालन भएको आठौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा भीम कुमाखी मल्ल निर्वाचित भएका छन् । सम्मेलनले सुरुमा पारित गरेको विधान अनुसार ९९ जनाको कार्यसमितिमध्ये ८९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

निर्वाचित केन्द्रीय समितिले चुनावी प्रक्रियाका आधारमा अध्यक्षमा भीम कुमाखी मल्ल, उपाध्यक्षमा डम्वरबहादुर रोकाया, उपाध्यक्ष तेजविलास अधिकारी, महिला उपाध्यक्ष बिमला केसी, महासचिव केशव सिलवाल, सचिव सुशील सिंह ठकुरी, सचिव पर्वत जैगडी, निर्विरोध रुपमा महिला सचिव अनुशा राई र कोषाध्यक्ष कृष्णकिसु न्यौपाने निर्वाचित गरेको छ ।

जेठ १७ गते प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्विचरण हलमा भव्य उपस्थितिका माझ पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए । कार्यक्रममा देशभरिबाट आएका सयौँ प्रतिनिधि, पर्यवेक्षक तथा सांस्कृतिककर्मीको उपस्थिति रहेको थियोे ।

उद्घाटन मन्तव्य राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ ।’ प्रधानमन्त्री प्रचण्डले जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्गठित गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ, ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको संवद्र्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।

सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले जनसांस्कृतिक महासङ्घ, नेपालको प्रकाशन ‘जनसंस्कृति’– ३ को लोकार्पण समेत गरेका थिए । जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको उक्त उद्घाटनसत्रमा पूर्वसभामुख अग्नि सापकोटा, नेकपाका नेता चिरन सी, महिला नेतृ अमृता थापा, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, जनसांस्कृतिक महासङ्घ, नेपालका पूर्वअध्यक्ष एवं वागमती प्रदेश सांसद सरल सहयात्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हेमराज आश्रमलगायतका अतिथिले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच, प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले प्रगतिवादी साहित्यकार केशव नेपालद्वारा लिखित ‘आमालाई चिठी’ उपन्यासको पनि विमोचनसमेत गरेका थिए । जनसांस्कृतिक महासङ्घ, नेपालका का.वा. अध्यक्ष भीम मल्ल कुमाखीले स्वागत मन्तव्य राखेको सो सम्मेलनको उद्घाटन सत्रमा उपाध्यक्ष राकेश किरातीले धन्यवाद मन्तव्य राखेका थिए ।

उद्घाटन समारोहको बीचबीचमा कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन समारोहको सञ्चालन महासङ्घका महासचिव सुवर्ण हमालले गरेका थिए । जेठ १८ गते सुरु भएको बन्दसत्रलाई अध्यक्ष मण्डलका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, सदस्य राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष शशिकला दाहाल र प्राज्ञपरिषद् सदस्य डा. मधुसुदन गिरीले सञ्चालन गरेका थिए ।

बन्दसत्रमा अध्यक्ष मातृका पोखरेलले प्रस्तुत गरेको सांस्कृतिक एवं संगठनात्मक प्रतिवेदन, का.वा. अध्यक्ष भीम कुमाखीले प्रस्तुत गरेको संशोधित विधानको प्रस्ताव र कोषाध्यक्ष विमला केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बन्दसत्रले बनाएका चौधवटा समूहले दिएको सुझावलाई समेटी पारित गरिएको थियो ।

सम्मेलनको तेस्रो दिन जेठ १९ गते नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगका सदस्य मिना शर्मा, गोविन्द बटाला र महासङ्घबाट प्राज्ञ बाबा बस्नेतको नेतृत्वमा बनेको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

प्रतिक्रिया