‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको लोकार्पण

जनकपुरधाम । जनकपुरधामका पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको लोकार्पण एक समारोहका बीच सम्पन्न भएको छ । पत्रकार झाका सोलहौ संस्करणको रुपमा रहेको उक्त पुस्तकको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोकार्पण गरेका हुन् । लोर्कापण कार्यक्रममा सभामुख मण्डलले पठन संस्कृतिको विकासका लागि निरन्तर लेखन र पुस्तक प्रकाशन आवश्यक रहेको बताए । उनले पुस्तक प्रकाशनमा सहयोगका लागि प्रदेश सरकार र स्थानीय सरकारले नयाँ निति ल्याउनुपर्ने समेत बताएका थिए ।

उनले भने,‘समाजलाई अग्रगति दिने पुस्तक तथा लेखनमा मेरो सहयोगको सधै प्रतिबद्धता हुन्छ । समाजमा काम गर्ने वा नगर्ने व्यक्तिमा गतिशिलता हुन्छ, तै पनि प्रतिभाहरूलाई जीवन मुल्य, जीवन व्यवहारलाई सजिव बनाउन जिवन मुल्यको व्यवहार सिकाउने भएकोले सदैव सहयोगमा साथ रहनेछु ।’

पत्रकार झाको ‘अन्हार घरमे डिबिआ’ १६ औ कृति रहेको छ । यसअघि मैथिली भाषामा उहाँको चिड़ै कथा संग्रह, रिपोटर डायरी, जिद्दी कथा संग्रह, गन्ध कथा संग्रह, कोइली घूरि आउ बालकथा संग्रह, खजुरीबाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसंग दोस लगाएब बालकथा संग्रह, सीताराम विवाहपर अनुसन्धान एवं विश्लेषण पुस्तक ‘पुनि पुनि होत विवाह’ प्रकाशित रहेको छ । ६ वटा अनुवाद पुस्तक पनि उहाँको प्रकाशित भएको छ । नेपालीवाट मैथिलीमा ती पुस्तकहरू प्रकाशित गरेका छन् ।

समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले लेखनकाज धेरै कठिन कार्य रहेको छ यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता माथि जोड दिएका थिए ।
मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले साहित्यको सबै क्षेत्रमा लेखन कार्यलाई बढाउनु पर्छ बताउँदै सुजीतको लेखनको यही विशेषता रहेको छ उहाँले कथा कविता मात्रै होइन विविध क्षेत्रमा लेखन गर्दै आएको बताए ।

त्यसैगरि तमलोपाका राष्ट्रिय अध्यक्ष वृषेशचन्द्र लालले मैथिलीमा प्रकाशनको समस्या भन्दा पठन समस्या बढिरहेकोले पठन तर्फ अभियान चलाउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए भने
वरिष्ठ चिकित्सक एवं तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले ‘अन्हार घरमे डिबिआ’ पुस्तकको विशेषता भनेको नकारात्मकतावाट सकारात्मकतामा ल्याउनु रहेको बताए ।

राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजिव झाले लेखनकार्य एउटा तपस्या जस्तो रहेकाले सबैकार्य छोडी यसमै लाग्दा मात्रै ठूलो लेखक बन्ने गरेको बताए । साहित्यकार एवं समालोचक रोशन जनकपुरीले सुजीतको विकास यात्राको शुरुदेखिकै साक्षी आफू रहेको बताउँदै भन्नुभयो शुरुमै पुस्तक पढने उनको बानी पूभावित गरेको थियो भने अहिले निरन्तर लेखन र साहित्यको विभिन्न विद्यामा लेखन प्रभावित गरिरहेको छ ।

सामाजिक कार्यकर्ता प्रमोद चौधरीले ‘अन्हार घरमे डिबिआ’को माध्यमले लेखक जनकपुरधामको विकास गतिदिन चाहन्छन् बताए ।
व्यापारी नेता पवनकुमार ठाकुरले शुरुको समयमा संघर्षको पाट हुन्छ त्यो पाटको समीक्षा हुँदा धरातलीय अवस्थाको ज्ञात हुने गरेको चर्चा गरेका थिए ।

प्रधानाध्यापक पवनकुमार मण्डलले गाउँवाट जनकपुरधाम पढन होइन जनकपुरधामवाट गाउँमा पढन, अरु जिल्लावाट गाउँमा पढन आफूले अभियान चलाएको कथा ‘अन्हार घरमे डिबिआ’ मा देख्न सकिन्छ बताए ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा पुस्तकका लेखक सुजीतकुमार झा, समीक्षकका रुपमा रहेका मनोज साह, अनुज मिश्र, विभा ठाकुर, योगगुरु मनोहर साह, समाजिक कार्यकर्ता कृष्ण दीक्षित, गायक एवं संगीतकार सुनिल मल्लिक, पत्रकार एवं प्राध्यापक श्यामसुन्दर शशि, पत्रकार जयन्त ठाकुरलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया