परेवा उडाउने प्रतियोगितामा युवाको बढ्दो सहभागिता

काभ्रे । धार्मिक सांस्कृतिक रुपमा महत्वपूर्ण मानिन्छ परेवालाई नेपाली समाजमा । शान्ति र सौहार्दको प्रतिकका रुपमा पनि मानिन्छ परेवालाई । परेवालाई अर्काे विकासक्रमको भाषामा सूचना पत्र वाहकको रुपमा समेत चिनिन्थ्यो ।

तर समय फेरिएको छ अहिले परेवालाई सामाजिक सद्भाव, भाइचारा र खेलको मनोरञ्जनको रुपमा समेत लिँदै आएको छ । मानिसहरु परेवालाई आफ्नो भाकल पूरा गर्न मान्दिरमा समेत उडाउछन् । अहिले डिजिटल युगमा पनि परेवाको उत्तिकै महत्व र चर्चा छ ।

यसैबीच नेपाल परेवा उडान खेल संघले २५ औं राष्ट्रिय परेवा उडान प्रतियोगिता २०८१ गरेको छ । नेपाल परेवा उडान खेल संघका महासचिव उज्वल रिमालले भने, ‘२०५७ सालदेखि स्थापित संघले निरन्तर परेवा उडान प्रतियोगिता गरिरहेको छ । यो २५ औँ संस्करणको प्रतियोगितामा ८२ प्रतियोगीहरु सहभागिता थिए । परेवा उडान प्रतियोगिताले सामाजिक सद्भाव र भाइचारा कायम राख्दै मनोरञ्जन र अनेकतामा एकता भर्ने खेलको रुपमा अहिले युवापुस्तामा समेत यसको क्रेज बढ्दो क्रममा छ,’ उनले भने, ‘हाम्रो प्रतियोगिताको नियमहरु समय सापेक्षित रुपमा थप घट भैरहन्छन् । यो खेलमा सहभागी हुन चाहानेले संघको नियम मान्नुपर्छ । खेलमा प्रथम, द्धितिय र तृतिय हुने लगायत सुपर सिक्समा पर्नेहरुले नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।’

यस बर्षको २५ औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको सुपर सिक्सको नतिजामा पहिलो बांगेमुढाका सुगत मानन्धर ३८ घण्टा ३० मिनेट, द्वितीय कालधाराका कबिन श्रेष्ठ ३४ घण्टा ८ मिनेट, तृतीय भक्तपूर ठिमीका बिरेन्द्र श्रेष्ठ ३२ घण्टा २३ मिनेट, चौथो (बर्दिबासका हरिश भुजु २० घण्टा ५१ मिनेट, पाचौं भक्तपुरकै बोडेका तुल्सी कुमार साहुखल ९ घण्टा १० मिनेट, छैंठो आलापोटका सुमन फुयाल ६ घण्टा २४ मिनेट रहेको संघले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट परेवाका रुपमा ठिमीका दिनेश श्रेष्ठ ११ घण्टा १४ मिनेट र बेस्ट एभरेजमा बांगेमुढाका सुगत मानन्धरको ३३ घण्टा ५८ मिनेट रहेको बताएका छन् ।
प्रतियोगितामा सहभागी भएका काभ्रेका समाजसेवी तथा राजनीतिज्ञ रघुवर चौप्रधान भन्छन्, ‘परेवा उडान प्रतियोगिता एक शालिन कुटिल चालको खेल हो यसबाट हामीलाई प्रत्यक्ष मनोरञ्जन त मिल्छ नै यसका अलवा हामी हरेक भूगोल, जात, धर्म संस्कृति र परम्परा र विचार आस्था मान्ने भए पनि यो खेलले हामीलाई धावकहरु र प्रतिस्पर्धीको रुपमा एक ठाउँमा ल्याउँछ । यो यस खेलको अति नै राम्रो पक्ष हो ।’

खेलमा सहभागी हुन संघको नियमहरु मान्नुपर्ने हुन्छ । प्रतियोगिताको नियममा सहभागी हुन नेपाल परेवा उडान खेल संघको सदस्य हुनुपर्ने र संघका सदस्यले आफ्नो सदस्यता नविकरण गराएको हुनुपर्ने, प्रतियोगितामा भाग लिन न्यूनतम पाँच र अधिकतम सातवटा परेवा हुनुपर्ने, जसमा पाँच अधिकतम उडेका परेवाको उडान समय गणना हुने, भने बाँकी दुई वटा अतिरिक्त परेवाका रुपमा रहने, नेपाल परेवा उडान खेल संघले सबै भन्दाबढि उडेका ६ प्रतियोगीलाई मात्र छानिनेगरेको बताएको छ ।

त्यसरी छानिएका ६ प्रतियोगिको एकै दिनमा पुनःउडान गरिने र सोहि दिन उडानको गणना गरी प्रथम, द्वितिय तथा तृतीय घोषणा गरिने छ । उत्कृष्ट परेवा चाहि प्रतियोगिता भरि सबै भन्दा वढी उडेको परेवालाई नै मान्यता दिने नियम राखिएको प्रमुख निर्णायक सन्जय थाः श्रेष्ठले बताए ।

उनका अनुसार प्रतियोगिताको अवधि विहान ६ बजेदेखि साँझ ६ बजेसम्म राखिएको थियो । प्रतियोगीले परेवा विहान ८ः३० बजेसम्ममा उडाई सक्नुपर्ने थियो भने प्रतियोगितामा समावेश गरेका परेवाहरु एकै समयमा उडाउनु पर्ने नियम रहेको बताउँदै प्रतियोगीले परेवालाई प्रतियोगिता हुने दिन अघि नै रंग लगाई तयार राख्नुपर्ने, रंग लगाउँदा परेवा उड्दा र बस्दा प्रष्ट देखिने गरी लगाउनु पर्ने, रंग एकै प्रकारको हुनुपर्ने र यदि दुई व्यक्तिले एकै घरबाट भाग लिएको खण्डमा फरक फरक रंग लगाउनु पर्ने नियम राखिएको आयोजकले जनाएका छन् ।

यस्तै संघका महासचिव समेत रहेका खेलका सहायक प्रमुख निर्णायक उज्वल रिमाल खेलका नियमबारे भन्छन्, ‘परेवा उडाएको समयदेखि १० मिनेटसम्म निर्णायकको अनुमतिमा झण्डा वा कपडाको सहयोगमा धपाउन पाइनेछ । उडाइएको परेवाहरु २ घण्टाभन्दा कम समयमा नै अवतरण गरेमा त्यस्ता परेवाको समय गणना हुँदैन र स्वतः बाहिरिएको मानिनेछ । उडाउने वित्तिकैका परेवाहरु तलतलबाट प्रतियोगीको घरको कावा छोडेर गएमा त्यस्ता परेवाहरु १० मिनेटभित्र आकाशमा देखिनुपर्ने, परेवाहरु नदेख्ने गरी आकाशमा दबेर गएको १० बजे पछि ५ घण्टाभित्र देखिनुपर्ने छ ।

यसैगरी ५ घण्टाभित्र आकासमा नदेखिएका परेवालाई प्रतियोगिताबाट स्वतः बाहिरिएको मानिने, प्रतियोगिले उडाएका परेवाहरु अवतरण गर्दा ४ घण्टा भित्र ३ वटा परेवा पखेटा काटेका, पखेटा सिलाएका वा कावा लिन नसक्ने खालका परेवाहरु आफ्नो घरको छानामा छोड्नु पर्ने र यसरी एक पटक छोडिएका परेवाहरु पुनः भित्र थुन्न नपाउने, परेवा अवतरण गर्न लागेको बेला प्रतियोगीले थप परेवा डुपरको रुपमा जालीभित्र छोडन पाउने, जाली नभएका प्रतियोगीले आफ्नो कौशीभित्र डुपर परेवा छोड्न पाउने, तर छोडिएका परेवाहरु उडेर गएमा उक्त प्रतियोगीको स्कोर बदर हुने, निर्णायकले प्रतियोगिता अवधिभर अन्तिम नतिजा नआउन्जेलसम्म प्रतियोगीका स्कोर प्रमुख निर्णायक बाहेक अरु व्यक्तिलाई मोबाईल वा अरु किसिमले जानकारी दिने नपाउने नियम छ ।

थप नियममा प्रतिकुल मौसमका कारणले यदि निर्णायकले प्रतियोगिताको परेवा हेर्न नसकेको अवस्थामा प्रतियोगी र निर्णायकको सहमतिमा उक्त उडानमा उडेका परेवा समय गणना गर्ने वा नगर्ने तय गर्ने, यदि प्रतियोगीले पुनःउडाउने इच्छुक भएमा दुई पटकसम्म उडाउने अवसर दिइने, परेवाहरु अवतरण गर्दा प्रतियोगीको घर बाहेक नजिक रहेका अन्य दुई घरहरुमा ओर्लिने गरेका छन् भने परेवा उडाउनु अगावै उडान फारममा लिखित जानकारी टिपाउनु पर्ने, त्यसरी जानकारी टिपाएको घरहरुमा ओर्लिएका परेवाहरु प्रतियोगिताको अवधिभित्र प्रतियोगीको घरमा फर्कनु पर्ने । अन्यथा त्यस्ता परेवाहरु प्रतियोगिताबाट बाहिरिएको मानिने नियम राखेको रिमालले बताए ।

खेलमा एकै घरबाट बढीमा २ परेवापालकले भाग लिन सक्ने र प्रतियोगीले एकै दिनमा एकै समयमा परेवा उडाउनु पर्ने, नदेख्ने गरी गएका परेवा लामो समयसम्म करिब १ घण्टाभन्दा बढी समयसम्म नदेखिएको अवस्थामा उक्त परेवा टिक टिक अवस्थामा नै देखिने गरी अवतरण गर्नुपर्ने, निर्णायकका विरुद्ध वा प्रतियोगी विरुद्ध कुनै प्रकारको अनियमितता वा जालसाजी गरेको भन्ने लिखित उजुर परेमा त्यस्ता व्यक्तिहरुलाई संघको केन्द्रिय कार्यसमितिले छानबिन गरी दोषी ठहर भएमा आवश्यक कारवाही गर्नको साथै नेपाल परेवा उडान खेल संघको सदस्यताबाट समेत अनिश्चितकालका लागि निलम्बन गरिने नियम छ ।

प्रतियोगिताको समयमा प्रतिस्पर्धामा छोडेको परेवाबाहेकको परेवाहरु प्रतिस्पर्धीको घरमा बस्न आएमा उक्त जानकारी मुख्य निर्णायकलाई गरी प्रमुख निर्णायक र निर्णायक छलफल गरी मात्र उक्त प्रतियोगिता सूचारु गर्ने वा रद्द गर्ने निर्णय गर्ने लगायत २० बुँदामा नियम बनाएर खेल सम्पन्न गरेको अर्का सहायक प्रमुख निर्णायक श्रृसन लाल श्रेष्ठले बताए । प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपूर, काभ्रे, चितवन, बर्दिवास लगायतका जिल्लाबाट प्रतियोगीहरु सहभागि थिए ।

प्रतिक्रिया