३ वर्षमै विदेशमा अस्ताए ४ हजार नेपाली !

काठमाडौँ । देशमा अवसर नपाएर परिवार पाल्न र सन्तानको उज्ज्वल भविष्यको सपना देख्दै दैनिक पराई देश उड्नेको संख्या हजारौँ छ । बुढा बाबुआमा, गर्भमै रहेका र बोली नफुटेका सन्तान वा भर्खरै विवाह गरेर प्रेमालाप पनि गर्न नपाई विदेश जानुपर्ने बाध्यतामा देशको अधिकांश जनसंख्या छ ।

अपवादबाहेक उनीहरू रहरले नभई बाध्यताले आफ्ना प्रिय आफन्तजनसँग अलग भएर पराई देश गएका छन्, यही आशामा कि, फर्केर आउँदा केही धनसम्पत्ति जोडिन्छ अनि सुखसयलमा बाँकी जीवन परिवारसँग बिताउन पाइयोस् । छोराछोरीको शिक्षा र स्वास्थ्यमा कुनै सम्झौता गर्नुनपरोस् । अनि, आफू पनि त्यही कमाएको धनले केही इलम गरी बस्न सकियोस् ।

तर, तिनै सुन्दर सपना र भविष्यको योजना बोकेर ठुलो जहाजमा उडेका हजारौँ नेपाली न कहिल्यै फर्केर आउँछन्, न तिनका परिवारले नै सोचेका सपना पूरा गर्न पाउँछन् ।

उमेर पुगेर परलोक जान लागेकाहरू त जीवनभर जता भए पनि ‘मर्ने बेलामा चाहिँ आफ्नै घरमा परिवारको काखमा मर्न पाउँ’ भनेर कामना गरिरहेको पाइन्छ । तर, लाउँलाउँ खाउँखाउँकै उमेरमा सुन्दर भविष्यको सपना साँचेर परिवारलाई पनि सपना देखाएर उडेका युवाहरू भने कहिल्यै फर्किंदैनन् भन्दा जोकोहीको भक्कानो फुट्नु स्वाभाविक हो । अझ, जसलाई परेको छ, उसको परिवारमा यसले कति पीडा दिन्छ, कल्पना पनि गर्न सकिँदैन । विदेश जानेको संख्या जसरी हजारमा गणना गरिन्छ, नफर्किनेको संख्या पनि १–२ मा होइन, सयमा होइन, हजारमै गणना गर्नुपर्ने बाध्यता छ । महालेखापरीक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आँकडा हेर्ने हो भने यो कहालीलाग्दो अवस्था देखिन्छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार, वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० सम्म ३ वर्षको अवधिमै वैदेशिक रोजगारीमा गएकामध्ये ४ हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।

सो अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये ८७० जनाको अंगभंग भएको छ भने कतिपय बिरामी छन् । गत ३ वर्षको श्रमिकको मृत्युदर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा ५ प्रतिशत वृद्धि भएको छ भने २०७८/७९ को तुलनामा २०७९/८० मा १ प्रतिशत घटेको छ ।

त्यस्तै अंगभंग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकामा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको संख्यामा कमी आए पनि अंगभंग तथा बिरामीको दर बढ्दो देखिएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निसासिएर, डुबेरलगायत कारणले मृत्यु, अंगभंग तथा बिरामी परेको अवस्था छ ।
यस वर्ष भएको कुल मृत्यु १ हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत छ ।

यसरी स्वाभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकाले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्महत्या दुरुत्साहन गर्न मनोचिकित्सालगायत कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्यु दर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ । यो वर्ष शव व्यवस्थापनमा मात्रै २ करोड ८५ लाख ८० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।बोर्डबाट वैधानिक रूपमा वैदेशिक रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनका लागि रकम निकासा हुने गरेकाले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन् । वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिकहरू गैरकानुनी आप्रवासन हुने अवस्था देखिएको छ । अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवास गृहमा राखी उद्धारसमेत गरेको स्थिति छ ।

अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन । श्रमिक गैरकानुनी आप्रवासनको कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्ने महालेखाले औँल्याएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट सुरुमा ३ लाख र २०७४ साउन १६ गतेदेखि ७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।
वैदेशिक रोजगार बोर्डले विगत ५ वर्षमा ५ हजार ५११ मृतक श्रमिकतर्फ ३ अर्ब ३ करोड ९८ लाख र १५ अंगभंग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रतिक्रिया