जनकपुर । धनुषाको जनकपुरधामलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा संघीय संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ । आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसंग प्राचीन ग्रन्थहरुमा पाइन्छ ।
निजगढ विमानस्थल बनाउन अझै अलमल
वैकल्पिक विमानस्थल बनाउन २०५४ मै सम्भाव्यता अध्ययन गरिएको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बारेमा सरकार अझै अलमलमा परेको छ ।
२०६५ सालमा कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्ड वाइडले विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको यो परियोजनामा न्यून वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउन सरकारलाई सर्वोच्च अदालतले २०७९ असारमा परमादेश दिएको २ वर्ष बितिसक्दा पनि सरकारले आगामी वर्ष निजगढ अघि बढाउने ठोस कार्यक्रम ल्याएन । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारी सम्पन्न गरिने छ,’ अर्थमन्त्री पुनले भने ।
अर्थ मन्त्रालयले नागरिक उड्डयन प्रधिकरणलाई शेयर लगानीबापत आगामी आर्थिक वर्षकालागि ३ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । यो रकमले प्राधिकरणले विमानस्थल पूर्वाधारमा खर्च गर्नुपर्छ ।
बजेटमा रेल र जलमार्गको बजेट
सरकारले जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने भएको छ । मंगलबार सार्वजनिक बजेटअनुसार पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने भएको छ ।
मधेसमा ४५० डिप बोरिङका लागि ३ अर्ब ४५ करोड
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै तराईका विभिन्न क्षेत्रमा सिँचाइ सेवाका लागि ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मंगलबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै मन्त्री पुनले तराई मधेसका भूमिगत सिँचाइका लागि स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सुविधा विस्तार गर्न ४५० डिप बोरिङ विस्तार गरी थप १५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न ३ अर्ब ४५ करोड विनियोजन गरेको बताए ।
नदी किनारका क्षेत्रमा सिँचाइका लागि २ अर्ब २२ करोड विनियोजन गरेको बताए । मध्य तराईका ५ जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउन सुनकोशी मरिन डाइभर्सनका संरचना बनाउन ३ अर्ब १२ करोड विनियोजन गरेको बताए ।
प्रतिक्रिया