फेरि रोकियो ५ हजार वर्ष पुरानो तीर्थयात्रा

काठमाडौँ । करिब ५ हजार वर्षअघि नेमुनि ऋषिले सुरु गराएको विश्वास गरिने बाग्मती तीर्थयात्रा विगत ५ वर्षदेखि रोकिएको छ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रूपमा रहेको बाग्मती नदीको महत्व जनमानसमा उजागर गर्दै यसको पवित्रताबारे चेतना जगाउन प्राचीनकालदेखि सुरु भएको बाग्मती तीर्थयात्रा विविध कारणले गर्दा रोकिने गरेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण त्रयोदशीदेखि हुने बाग्मती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको हो । वैशाख कृष्ण त्रयोदशीदेखि करिब १५ दिनसम्म यो जात्रा गरिन्छ । २०७७ र २०७८ सालमा कोरोना महामारीका कारण यात्रा स्थगित गरिएको थियो । २०७९ र २०८० सालमा पनि तीर्थ गुरु बिरामी भएको भन्दै बाग्मती तीर्थयात्रा स्थागित गरिएको थियो । यस वर्ष के कारणले तीर्थयात्रा रोकिएको भन्ने विषयमा पशुपति क्षेत्र विकास कोष नै बेखबर देखियो ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले यस विषयमा आफूलाई जानकारी नभएको बताउँदै संस्कृति महाशाखा प्रमुखलाई थाहा हुने बताए । कोषको संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीले भने आफू महाशाखा वैकल्पिक रूपमा हेर्ने गरी आएको २० दिन मात्र भएकाले यस विषयमा केही भन्न नसक्ने बताए ।

प्रत्येक वर्ष वैशाख शुक्ल र कृष्ण पक्षका १५ दिन गरिने यो यात्रा तीर्थ गुरुका रूपमा रहेका आगमघरका भट्टको स्वास्थ्य अवस्था बिग्रिएकाले २०७९ र २०८० सालमा तीर्थयात्रा गरिएको थिएन । कोषले २०७९ र २०८० सालमा तीर्थयात्राको नेतृत्व गर्ने पशुपतिनाथ आगमघरका भट्ट मदन भट्ट नै बिरामी परेकाले तीर्थयात्रा गर्न नसकिएको जानकारी गराएको थियो ।

दुवै वर्षको यात्राका क्रममा मसान सिद्धिको दीक्षा अरूलाई नदिइएकाले यात्रा स्थागित गर्नुपरेको कोषले बताउने गरेको थियो । यस वर्ष भने कोषले किन जात्रा रोकिएको हो भन्नेबारे कुनै जानकारी गराएको छैन । ‘ने’ मुनिले सुरु गरेको विश्वास गरिने बाग्मती तीर्थयात्रा बाग्मती प्रदूषित हुन थालेपछि २०३५ सालदेखि २०७४ सम्म बन्द भएको थियो ।

कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालको विशेष पहलमा २०७५ सालदेखि तीर्थयात्रा पुनः सुरु गरिएको थियो । करिब ४० वर्षपछि २०७५ सालमा सुरु भएर २ वर्ष चलेको बाग्मती तीर्थयात्रा नभएको अहिले ५ वर्ष भइसकेको छ ।

तीर्थयात्राका क्रममा कटुवाल दहबाट वाग्द्वारसम्मका १६७ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, बाग्मती महात्म्य वाचनलगायत कर्म गरिन्छ । यस्तो यात्राले बाग्मतीको शुद्धीकरणका लागि पनि सहयोग गर्ने विश्वास गरिन्छ । ४० वर्षपछि यात्रा सुरु गर्दा नदीलाई सफा बनाउन जागरण फैलाउने उद्देश्यसमेत राखिएको थियो ।

कोषका कर्मचारी डा. वरुण खतिवडाले २०७५ र २०७६ सालमा बाग्मती तीर्थयात्राको कर्ताको भूमिका निर्वाह गरेका थिए । काठमाडौँ उपत्यकाभित्रका बाग्मती किनारका सबै तीर्थमा पैदल हिँडेर गरिने यो तीर्थयात्राको मौलिकता हराउन नहुने भन्दै संस्कृतिप्रेमीले माग गर्दै आएका छन् । संस्कृतिप्रेमीको यो मागमा कोषले भने खासै वास्ता नगरेको भन्दै आलोचना हुने गरेको छ ।

कलियुगको सुरुआती चरणमा योगिनीको आदेशमा नेमुनिले पशुपति मन्दिरको संरक्षण गरेका थिए । त्यसै समयदेखि बाग्मती तीर्थयात्रा सुरु भएको विश्वास गरिन्छ । नेमुनिको नामबाट नेपालको नामकरण भएको स्कन्द पुराणमा उल्लेख गरिएको स्वामी जगदीश प्रपन्नाचार्य बताउँछन् ।

प्रतिक्रिया