जयपृथ्वी अस्पतालमा मुटु रोगसम्बन्धी उपचार हुने

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पताल प्रालिमा पहिलो पटक वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् ।

सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा काम गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्माले वैशाख ३० र ३१ गते जयपृथ्वी अस्पतालमा बिरामी चेकजाँच तथा उपचारका लागि आउन लागेको जयपृथ्वी अस्पतालले जनाएको छ ।

उक्त अस्पतालका व्यवस्थापक अशोक मल्लले बझाङमा पहिलो पटक मुटुको इको सुविधासहित जन्मजात मुटुमा समस्या, मुटु सुन्निने, मुटुको भल्भको समस्या, हृदयघात, छाती दुख्ने, दम तथा स्वास प्रस्वाससम्बन्धी दीर्घरोगको उपचारसम्बन्धी सेवा प्रदान गरिने र अन्य डाक्टरको टिमले मुटुको धड्कनमा गडबढी, रक्तनलीमा समस्या, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा मुटुसम्बन्धी दीर्घरोग भएकाहरुको उपचार हुने जानकारी दिए ।

साथै मुटुको समस्याले खुट्टा सुन्निने, थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने समस्याको उपचार समेत हुने उनले बताए । मुटुसम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरुको फलोअप, चेकअप तथा परामर्श सेवा दिइने जयपृथ्वी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया