दर्ताविनै २१ इँटा उद्योग सञ्चालनमा

itta-uddhogराजविराज, १३ फागुन । सप्तरीका विभिन्न स्थानमा सञ्चालन भइरहेका ७५ मध्ये २१ वटा इँटा उद्योग दर्ताविनै सञ्चालनमा रहेका छन् । सम्बन्धित निकायको प्रभावकारी अनुगमन र कारबाहीको पहल हुन नसक्दा यस्ता इँटा उद्योग बन्द हुनुको साटो थपिँदै जाने क्रम बढिरहेको छ ।

प्रशासन, जिल्ला वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयलाई बेवास्ता गरी दर्ता नै नगरी सञ्चालनमा रहेका इँटा उद्योगमा भेडिया–२ को मारुती, वोदेवर्साइन–५ को राइन, कटैया–८ को शिवपार्वती, औरही–१ को चाँद, तेरहौता–४ को ओम विजय, माकोइली, मधुपटी–८ को ओम शिव, हर्दियाको बरुवा, मलेकपुरको जयहनुमान, बरहीवीरपुरको तुलसी इँटा, विषहरियाको गुर्गा इँटा, कोसी, जयबाबा, महावीर, सम्राट, माकाली, मोहनपुरको महालक्ष्मी, एसके, बाबा, कस्तुरी र नसिब इँटा उद्योग रहेका छन् ।
सर्वसाधारणको स्वास्थ्य र वातावरणीय प्रभावलाई बेवास्ता गरी मापदण्डविपरीत सञ्चालनमा रहेका यी इँटा उद्योगले बर्सेनी लाखौँ राजस्व छली गरिरहँदासमेत यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । गैरकानुनी रूपमा सञ्चालित यस्ता उद्योगले उद्योग सञ्चालन गर्नुपूर्व पूरा गर्नुपर्ने सामान्य मापदण्डसमेत पूरा गरेका छैनन् । उद्योग सञ्चालन गर्नुपूर्व मानवीय बस्ती, सार्वजनिक स्थल तथा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान छ । यस्ता उद्योगका कारण सर्वसाधारणको स्वास्थ्य, वातावरणीय प्रदूषण तथा गैरकानुनी रूपमा वन पँmडानी गरेकाले सम्बन्धित निकायले तत्काल कानुनी प्रक्रिया थाल्नुपर्ने स्थानीयवासीको माग छ ।
उद्योग दर्ता गरे राजस्व बुझाउनुपर्ने र आफूे चाहेको स्थानमा सञ्चालनसमेत गर्न नपाउने भएपछि सञ्चालकले दर्ता प्रक्रिया नै पूरा नगरी व्यवसाय चलाउने गरेका छन् । यस्ता उद्योगलाई औद्योगिक व्यवसाय ऐनअनुसार दर्ता गरी नियमअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिँदासमेत अटेर गरेपछि वर्षौंदेखिको समस्या हालसम्म कायम रहेको घरेलु तथा साना उद्योग कार्यालयका एक कर्मचारीले बबताए ।
अर्कोतर्फ दर्ता रहेका ५४ उद्योगमध्ये एक दर्जनभन्दा बढी इँटा उद्योग अहिले पनि सम्झौताअनुसार सञ्चालनमा छैनन् । खोजपुर–९ को कमाल, जमुनीमधेपुरा–७ को पुर्णिमा, इटहरी विष्णुपुर–४ को एभरेस्ट, खोजपुर–८ को मासेरा, मल्हनिया–३ को कन्हैया, भंगाहा–१ को शिवालय इँटा, प्रसवनी–५ को वज्र, कुशाहा–९ को सुपर इँटालगायत एक दर्जन उद्योगले तोकिएको स्थानभन्दा बाहिर वा फिक्स चिम्नी नराखी उत्पादनलाई निरन्तरता दिँदै आएको ती कर्मचारीको भनाइ छ ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमुख रघुवर साहले पटकपटक प्रयास गरे पनि धेरै उद्योगलाई दायरामा ल्याउन नसकिएको स्विकारे । पछिल्लोपटक जिल्लाका ४ वटा उद्योगलाई कारबाही गरिएको जानकारी उनले दिए । कञ्चनपुरको त्रिशक्ति इँटा उद्योग, तेरहौताको ओम विजय इँटा उद्योग तथा मा–कोइली इँटा उद्योग र खोक्सरको श्रीबाबा इँटा उद्योगलाई उत्पादन तथा बिक्रीवितरण गर्न नपाउने गरी बन्द गरिएको प्रमुख साह बताउँछन् ।

प्रतिक्रिया