काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई बनाउने सहमति भएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी (रञ्जिता समूह) ले अडान छोडेपछि नेकपा एस लाभान्वित बन्ने भएको हो । सुदूरपश्चिमको नेतृत्व नेकप एकीकृत समाजवादीलाई दिन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ ।
नाउपाका सांसदहरुले दाबी छोड्न तयार भएपछि सत्ता गठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका हुन् । यसअघि नाउपाभित्रैबाट कैलाश चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टाछुट्टै दाबी पेश गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो ।
एउटै पार्टीबाट दुईवटा दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मियाँ कानुनी परामर्शमा थिए । तर, मंगलबार दिउँसो नाउपासँगै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित बसेको बैठकमा सहमति जुटेको माओवादी केन्द्रका सुदूरपश्चिम दलका नेता मानबहादुर धामीले जानकारी दिए ।
प्रतिक्रिया