स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

लालबन्दी । स्रोत नखुलेको पौने २८ लाख नगदसहित जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले दुई जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–३ निवासी २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारीलाई २७ लाख ७५ हजार ९७० रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।
हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले आइतबार दिउँसो मलंगवा नगरपालिका–९ स्थित सडकखण्डमा शंकास्पद अवस्थामा कालो रंडको झोला पिठ्यूमा बोकेर हिँडेका राजालाई नियन्त्रणमा लिई चेक गर्दा एक हजार दरको एक हजार थान नेपाली नोट १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

राजाको साथबाट लक्ष्मी सनराइज बैंक लिमिटेडमा ९ लाख ९० हजार रुपैयाँ जम्मा गर्ने दुई वटा भौचरसमेत फेला परेको र उक्त जम्मा गर्ने रकमको स्रोत खुलाउन नसकेको प्रहरीको दाबी छ ।
एसपी ज्ञवालीका अनुसार राजाले उक्त रकम अंसारीले सञ्चालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको भनेपछि प्रहरी टोली मलंगवा–९ स्थित उक्त पसलमा पुगेको थियो । पसलभित्र खानतलासी गर्दा ¥याकभित्र रहेको खैरो रंगको झोलामा कालो प्लास्टिकले बेरेको अवस्थामा एक हजार दरको १ हजार ४५४ थान, ५०० दरका ६२२ थान, १०० दरको १०९ थान, ५० र २० दरको एक–एक थान नेपाली नोट गरी जम्मा १७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पसल सञ्चालक अंसारी लालबन्दी बजारस्थित आफ्नो अर्को पसलमा रहेको खबर पाएपछि उनलाई समेत तत्काल पक्राउ गरिएको एसपी ज्ञवालीले बताए । एसपी ज्ञवालीका अनुसार बरामद रकम हुन्डी कारोबारमा प्रयोग हुन सक्ने भएकोले त्यसतर्फ तथा अंसारी अन्य विभिन्न अवैध कारोबारमा समेत संलग्न रहेको हुनसक्ने सूचना प्राप्त भइरहेकोले थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया