रौतहट । रौतहटको गौरमा जारी रहेको पालिका कप टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो चरण लिगको दोस्रो खेलमा माधवनारायण नगरपालिका विजयी भएको छ । पहिलो खेल जितेको यमुनामाई गाउँपालिका दोस्रो खेलमा माधवनारायण नगरपालिकासँग पराजित भएको हो ।
मंगलबार जितेको माधव नारायण नगरपालिका बुधबार गौर नगरपालिकासँग दोस्रो खेल खेल्ने आयोजकले जनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको माधवनारायणले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १३१ रनको स्कोर बनाएको थियो ।
माधवनारयण नगरपालिकाको लागि रणवीर यादव ४४ रन, नितेश यादव २२ रन र धीरज यादवले १९ रनको पारी खेलेका थिए । यमुनामाईको बलर रन्जीत मुखिया, जीतेन्द्र मुखिया र डब्बलू मलिकले दुई–दुई विकेट हात परे । जितका लागि पाएको १३२ रनको लक्ष्य पूरा गर्नका लागि उत्रेका यमुनामाईका खेलाडीले संघर्ष गरे पनि सफलता पाउन सकेन ।
यमुनामाईको टिमले १०९ रन मै सीमित भएर २२ रनले खेल हारेको छ । यमुनामाईका लागि डब्बलू मल्लिक ३४, तबरेज आलम २२ र प्रिन्स झाले ११ रनको योगदान दिए । यमुनामाईको टिमले सुरुको ६ ओभरको पवार प्लेमा खासै फाइदा लिन नसकेको कारण दबाबमा परेकाले २२ रनले खेल गुमाउन परेको हो ।
माधवनारायणलाई जिताउनको लागि सतीश यादव २, चन्दन ठाकुर २, दिपेन्द्र साह २ र नितेश यादवले २ विकेट लिएका थिए । फागुन २६ गतेदेखि सुरु भएको पालिका कपको फाइनल खेल चैत २४ गते राति हुने छ । फाइनल खेलको लागि बत्ती जडानको कार्य तीब्ररुपमा जारी रहेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।
रौतहट
प्रतिक्रिया