टी–२० क्रिकेटमा नेपालले भारतको बरोडाविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपाले आफ्नो दोस्रो खेल भारतको बरोडा क्लवविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । उक्त खेल अब केही समयमा सुरु हुनेछ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले पहिलो खेलमा आइतबार गुजरातको स्टेट टोलीलाई आठ विकेटले हराएको थियो । त्यसैगरी गुजरातले सोमबार बरोडालाई पाँच विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।

गुजरातलाई ९८ रनमा अलआउट गर्न नेपाली अलराउण्डर गुलशन झाले चार र करण केसीले तीन विकेट लिएका थिए । टस हारेर पहिला ब्याटिङ गर्दै गुजरातले दिएको जितका लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ भने शुक्रबार बरोडाविरुद्ध पुनः खेल्नेछ । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् । आगामी दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो ।

प्रतिक्रिया