ऋणपत्र जारी गर्ने तयारीमा निजी बैंक

काठमाडौं, ९ फागुन । लगानीका आकर्षक आयोजना हुँदा पनि पुँजी कोष कम भएका कारण लगानी गर्न कठिन हुने समस्यालाई समाधान गर्न वाणिज्य बैंक धमाधम ऋणपत्र जारी गर्ने कसरतमा लागेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हाल चार वाणिज्य बंैकले दुई अर्ब २० करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्न आवेदन दिएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक र किस्ट बैंकले बोर्डमा ऋणपत्र निष्काशनको लागि आवेदन दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंकले उठाएको कुल निक्षेपको ८० प्रतिशत मात्र ऋण लगानी गर्न पाउँछन् । त्यस्तै आफ्नो पुँजी कोषलाई १० प्रतिशतको हाराहारीमा राख्नुपर्छ । नयाँ वाणिज्य बैंकको पुँजी कोष २० प्रतिशतभन्दा माथि रहे पनि अन्य बैंकको प्राय: १० देखि १५ प्रतिशतकै हाराहारीमा रहेका छन् । पुँजी कोष अत्यधिक हुनु बैंकको लागि फाइदाजनक मानिँदैन । पुँजी कोष बढिरहनुको अर्थ बैंकमा निक्षेपकर्तालाई ब्याज दिनुपर्ने रकम बढी रहेको तर त्यो रकमले ब्याज आम्दानी गर्न नसकेको जनाउँछ भने कम पुँजी कोषले निक्षेपकर्ताले चाहेको बखत रकम फिर्ता गर्न नसक्ने अवस्थाको संकेत गर्दछ । साधारणतया ११ प्रतिशतको हाराहारीमा पुँजीकोष राख्नु उत्तम मानिन्छ ।
एभरेस्ट बैंकले ७० करोड रुपियाँबराबरको ७ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । बैंकले वार्षिक ९ दशमलव ७५ प्रतिशत ब्याज दिने गरी सो ऋणपत्र जारी गर्न लागेको हो । बैंकहरूले औसत ५ प्रतिशतको हाराहारीमा निक्षेपमा ब्याज प्रदान गरिरहेको समयमा यो ऋणपत्र आकर्षक लगानीको उपकरण मान्नुपर्ने एक सेयर बजार विश्लेषकले बताए । बैंकले १० वर्षपछि सावाँ फिर्ता दिने बताएको छ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ ।
त्यस्तै किस्ट बैंकले ५० करोड रुपियाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने तयारी गरेकोछ । बैंकले ५ वर्षपछि सावाँ फिर्ता पाइने सो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ९ प्रतिशत ब्याज पाउनेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरिएको छ ।
सिद्धार्थ बैंकले ५० करोड रुपियाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । बैंकले ऋणपत्रको प्रतिफल ८ प्रतिशत तोकेको छ । ७ वर्षपछि सावाँ फिर्ता हुने सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ५० करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन अनुमतिका लागि बोर्डमा निवेदन दिएको छ । बैंकले ७ वर्षका लागि वाषिर्क ८ प्रतिशत ब्याज दिने गरी निष्काशन गर्न लागेको हो । इन्भेस्टमेन्ट बैंकको ऋणपत्र निष्काशन कार्यका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ । डिबेञ्चरमा लगानी गर्दा लगानीकर्ताले प्रतिकित्ता एक हजार रुपियाँ दरले न्यूनतम १० सम्म ऋणपत्र आवेदन गर्न सक्नेछन् । ऋणपत्र लगानी अन्य वित्तीय औजारको तुलनामा सुरक्षित मानिन्छ ।
बैंक तथा वित्तीय संस्थाले ऋणपत्र विगत वर्षमा जारी गर्ने गरे पनि दोस्रो बजारमा कारोबार भने खासै हुने गरेको छैन । सेयर बजार बढेको समयमा ऋणपत्रको ब्याजदर थोरै हुँदा लगानीकर्ताले खासै चासो दिएका थिएनन् । सेयर बजार घट्दा ऋणपत्रको ब्याजदरभन्दा बैंकको ब्याजदर नै बढी थिए । हाल बैंकहरूको निक्षेपमा ब्याजदर विस्तारै घट्दै गए पनि वाणिज्य बैंकले जारी गरेको ऋणपत्रको ब्याजदर भने निक्षेपमा दिनेभन्दा बढी नै रहेको छ । साधारणतया बिमा कम्पनीहरूले ऋणपत्रमा लगानी गर्ने गरेका छन् ।

प्रतिक्रिया