मेयर कपमा धनुषाको विजयी सुरुवात

जनकपुरधाम । रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा दोस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता धनुषाले विजयी सुरुवात गरेको छ । धनुषाका कप्तान म्यान यादव नटआउट ६५ रनको पारी खेल्दा धनुषा ५० रनले विजयी भए । टस जितेर धनुषा टिम पहिला ब्याटिङ रोजेका थिए । निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर धनुषा टिम एक सय ३८ रनको लक्ष्य सर्लाही समक्ष प्रस्तुत गरेको थियो ।

धनुषाका लागि अलि अकबरले १७, रुपेश यादव १५, विक्रान्त यादव १४ र हरिशंकर साहले १२ रन बनाए । सर्लाहीका लागि बलिङ गरेका मधु यादव दुई र पिन्टु यादव, सार्थक न्यौपाने र गोपिकान्त मुखियाले एक÷एक विकेट लिए । सर्लाहीको फिल्डिङ कमजोर देखिएपनि बलरहरुले अतिरित्त रन कम दिएका थिए ।

जवाफी ब्याटिङका लागि आएका सर्लाही टिम २० ओभरमा सबै विकेट गुमाएर मात्र ८७ रन बनाउन सके । सर्लाहीका लागि अन्तिम ब्याटस म्यानको रुपमा आएका गोपिकान्त मुखियाले सार्वधिक नटआउट २३ बलमा ३२, रञ्जित यादवले २१ र राहुल महताले ११ रन बनाए ।
धनुषाका लागि बलिङ गरेका अभिजित मण्डलले चार ओभरमा मात्र ११ रन खर्चेर तीन विकेट, साइमोन राय र अखिलेश ठाकुरले दुई दुई विकेट लिए भने रुपेश यादव र हरिशंकर साहले एक एक विकेट लिएका थिए । लिग चरणमा भइरहेको यस प्रतियोगितामा शनिबार दुई खेल भएको धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो खेल सर्लाही र महोत्तरीबीच हुने छन् भने दोस्रो खेल धनुषा र सिरहाबीच प्रतिस्पर्धा भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेश प्रमुख एवं प्रमुख अतिथि सुमित्रा सुवेदी भण्डारीले युवाहरुको शारिरिक, मानसिक र व्यक्तित्व विकास गर्नका लागि खेलकुद अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले युवाहरु अनावश्यक कुराहरुवाट ध्यान हटाई खेलकुदमा केन्द्रित भए गलत दिशामा जाने सम्भावना कम रहने बताइन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री सुरिता साहले खेलकुद मैदान बनाउनु प्रदेश सरकारको प्राथमिकतामा रहे पनि संघ सरकार र निजामति कर्मचारीको कारणले रंगशाला निर्माण कार्यले गति लिन नसकेको दुखेसो व्यक्त गरिन् ।उनले सरकार उथलपुथलका कारण योजना सहि समयमा सम्पन्न हुन नसकेको गुनासो गरिन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने परिकल्पना अनुरुप राम जानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माणलाई जनकपुरधाम उपमहानगरपालिकाको पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले रंगशालालाई मूर्तरुप दिन स्थानीय तह र प्रदेश सरकारको अर्जुन दृष्टि हुनुपर्ने बताए । मेयर साहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साह, नेपाली कांग्रेसका नेता जिवनाथ चौधरी, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे, सरोज मिश्रा लगायतको उपस्थिति रहको थियो ।

प्रतिक्रिया