पालिका कप क्रिकेटको दोस्रो चरण खेल सकियो, तेस्रो चरणमा ६ टिम प्रवेश

रौतहट । जिल्लाको गौरमा जारी रहेको पालिका कप टी– २० क्रिकेट प्रतियोगिताको दोस्रो चरणको खेल सकिएको छ । पहिलो चरणबाट प्रतिस्पर्धा गरी दोस्रो चरणमा प्रवेश गरेका १२ टिममध्ये ६ वटा टिम तेस्रो चरणको नकआउट प्रतिस्पर्धाको लागि क्वालीफाई गरेका हुन् ।

दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने क्रममा राम्रो खेल प्रदर्शन गर्ने ६ वटा टिम तेस्रो चरणमा प्रवेश गरेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ । दोस्रो चरणको खेलबाट बाहिर हुनेमा कटहरिया नगरपालिका, इशनाथ नगरपालिका, गरुडा नगरपालिका, बौधिमाई नगरपालिका, बृन्दाबन नगरपालिका र दुर्गा भगवती गाउँपालिका रहेका छन् ।

दोस्रो चरणको खेलमा राम्रो प्रदर्शन गरेका गौर नगरपालिका ६ अंक, यमुनामाई गाउँपालिका ५ अंक, चन्द्रपुर नगरपालिका ५ अंक, माधवनारायण नगरपालिका ४ अंक र गुजरा नगरपालिका ४ अंक प्राप्त गर्दै तेस्रो चरणको नकआउट प्रतियोगितामा सहभागी भएको रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले बताए ।

तेस्रो चरणको नकआउट प्रतिस्पर्धामा प्रवेश गरेका ६ वटा टिमलाई ३ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गौर नगरपालिका र गुजरा नगरपालिका, समूह ‘बी’ मा गढीमाई नगरपालिका, माधवनारायण नगरपालिका र समूह ‘सी’ मा यमुनामाई गाउँपालिका र चन्द्रपुर नगरपालिका रहेको छ ।

तेस्रो चरणमा हुने प्रतिस्पर्धाबाट ३ वटा टिम प्रतियोगिताबाट बाहिर जाने छन् भने तीन वटा तीन लीग प्रतिस्पर्धाको लागि छनोट हुने आयोजकले जनाएको छ ।

तीन वटा टिमले लीग खेल खेल्ने र सोबाट विजयी हुने दुई टिमले फाइनल खेल्ने आयोजकका प्रेस संयोजक प्रवीण टिबडेवालले बताए । १८ वटा पालिकाको टिम सहभागी भएको पालिका कप क्रिकेट प्रतियोगिताबाट अहिलेसम्म रन रेटको आधारमा १२ वटा टिम प्रतियोगिताबाट बाहिर भइसकेका छन् ।

प्रतिक्रिया