संघीय शिक्षा ऐनले शिक्षकका समस्या सम्बोधन गर्छः अध्यक्ष भण्डारी

रौतहट । संघीय शिक्षा ऐन तुरुन्त आउने र ऐनले शिक्षकका समस्या सम्बोधन गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले बताएका छन् । संगठनको मधेस प्रदेशस्तरीय पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले विद्यालय कर्मचारी तथा बाल विकासका शिक्षकको समस्यालाई सम्बोधन गर्ने गरी आगामी बजेटमै व्यवस्था गरिने जानकारी गराएका छन् ।

शिक्षकको आवधिक बढुवा तथा ग्रेड संख्या वृद्धिको सन्दर्भमा पनि सरकारले सबै कुरा मानेको बताउँदै केही शिक्षा ऐनमै व्यवस्था हुने र केही आगामी जेठ १५ मा आउने बजेटबाटै सम्बोधन हुने भण्डारीको दाबी छ । नेपाल सरकार र शिक्षक महासंघसित भएको सम्झौताअनुसार शिक्षकको आवधिक बढुवा शिक्षा ऐनमा आउने निश्चित भएको तथा ग्रेड संख्या वृद्धि आगामी साउनबाटै हुने भण्डारीले ठोकुवा गरेका छन् ।

अधिवेशनले नरेन्द्रप्रसाद यादवको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन मधेस प्रदेश समिति चयन गरेको छ । अधिवेशनले पुष्पाकुमारी मिश्र महिला उपाध्यक्ष, हरिकुमार श्रेष्ठ र हस्तबहादुर लामा उपाध्यक्ष, शत्रुघ्न मुखिया महासचिव, कमला औझैया उपमहासचिव, संगीतकुमार श्रीवास्तव सचिव, गुलाब चौधरी कोषाध्यक्ष र निरामया आले सहकोषाध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया