लालबन्दी । सर्लाहीको २० पालिकामध्ये मलंगवा नगरपालिकालाई जिल्लामै पहिलो ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । जिल्ला सदरमुकाम मलंगवालाई मधेस प्रदेशको चौथो र जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको हो । नगरपालिकाका प्रमुख (मेयर) नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सर्लाही क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।
नगर शिक्षा समितिको बैठकको निर्णयअनुसार मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका जम्मा ५ हजार ६ सय ३० जनसंख्या मध्ये ५ हजार ४ सय १२ अर्थात ९६ दशमलव १३ प्रतिशत जनसंख्या साक्षर भएकाले नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको मलंगवा नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए ।
नगरपालिकालाई साक्षर बनाउन शिक्षकहरू खटाएर प्रत्येक वडामा एक–एक वडा सिकाइ केन्द्र सञ्चालन गरी १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो ।
हाल मलंगवामा ९६ दशमलव १३ प्रतिशत नागरिक लेखपढ गर्न सक्ने भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले बताए । नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडाका घरधुरीहरूमा पुगेर १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिहरूको तथ्यांक संकलन गरेको थियो । दोस्रो चरणमा सिकाइ केन्द्र सञ्चालन गर्ने र विद्यालय शिक्षकहरूको माध्यमबाट विभिन्न चरणमा समावेश गर्दै लेखपढ गर्न सिकाइएको थियो ।
मलंगवा नगरपालिकामा गएको भदौ २५ गते १२ वटै वडालाई साक्षर वडा घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट २६ गते बृहत् कार्यक्रममार्फत साक्षर नगरपालिका घोषणा गर्ने योजना भए पनि मलंगवामा भएको धार्मिक द्वन्द्वका कारण रोकिएको थियो ।
त्यसबेला संघीय शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी रायको उपस्थितिमा नगरलाई साक्षर नगरपालिका घोषणा गर्ने योजना बिफल भए पनि ६ महिनापछि मंगलबार पालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो । कार्यक्रममा मलंगवालाई साक्षर नगरपालिका घोषणा गर्नमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका नामक पुस्तक पनि विमोचन गरिएको थियो ।
नेपाल सरकारको मापदण्डअनुसार साक्षर नगरपालिका घोषणा गर्न पालिकाभित्र ९५ प्रतिशत नागरिक लेखपढ गर्न सक्ने हुनुपर्नेछ । मधेसमा यसअघि २०८० असार १८ गते सप्तरीको बोदेबरसाइन पहिलो र ३१ गते सुरुंगा नगरपालिका दोस्रो, तेस्रोमा गएको भदौ २२ गते बाराको बारागढी गाउँपालिकालाई ‘साक्षर पालिका’ घोषणा गरिएको थियो ।
सर्लाही
प्रतिक्रिया