वीरगञ्ज । उद्योग वाणिज्य संघ वीरगञ्जको ४८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ४८औँ वार्षिक साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रमका प्रमुखअतिथि ढकालले महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने बताए । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए । राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै उनले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी पनि गराए ।
महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोसेढुंगा भएको उनले बताक्एा थिए । बृहत् आर्थिक बहसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको उनले स्मरण गराए । उनले कार्यक्रमा व्यवसायीलाई सम्बोधान गर्दै पछिल्लो समय वित्तीय क्षेत्रमा सुधार भएको बताए । ‘अझै हामीले प्रयास गर्नुपर्छ’, अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’
त्यस्तै सम्बोधनकै क्रममा वीरगञ्ज उद्योग वाणिज्य संंघका अध्यक्ष अनिल कुमार अग्रवालले ६ वर्ष बितिसक्दा पनि औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने समस्याको अन्त्य नभएको बताए । सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्कालगायत अन्य सञ्चारकर्मी र उत्कृष्ट आयातकर्ता तथा निर्यातकर्ता व्यवसायीलाई सम्मानसमेत गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी गराएका छन् ।
प्रतिक्रिया