रौतहट । रौतहटको गुजरा नगरपालिका–५ मा सञ्चालन रहेको रहमान प्राथमिक विद्यालयमा जाने सार्वजनिक बाटो कब्जा गरिएको छ । सार्वजनिक बाटो कब्जा गरेपछि विद्यालयमा अध्यन गर्ने बालबालिकालाई विद्यालय जान समस्या भएको हो ।
साविक गाउँ विकास समिति लक्ष्मीपुर–७ मा अवस्थित रहेको विद्यालयका प्रध्यानाध्यापक मोहमद अफरोज आलमले निर्वाचित वडा अध्यक्ष शेख जमालुदीनले सर्वे नक्सामा करिब ७० फिट कायम रहेको सार्वजनिक सडक कब्जा गरेको आरोप लगाएका छन् ।
वडा अध्यक्ष जमालुदीन र सोही वडाका ६५ वर्षीय शेख वहाबले विद्यालयमा आउन जानका लागि प्रयोग हुँदै आएको बाटो निजी कब्जामा लिएको उनले दावी गरेका छन् ।
सोमबार रौतहट जिल्लाको गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रध्यानाध्यापक आलमले यस्तो आरोप लगाएका हुन् । रौतहट कनकपुर–१ को किता नम्बर २५१४ को दुई कट्ठा जग्गामा स्थापना भएको विद्यालयको नेपाल सरकारको सर्वेमा पश्मिम तर्फबाट कायम रहेको करिब ७० फिट सार्वजनिक सडक वडा अध्यक्षले बलपूर्वक कब्जा गरेपछि विद्यालयमा अध्यनरत ३ सय ८३ जना बालबालिकाको पठनपाठन प्रभावित भएको उनले बताए ।
विद्यालयको विकास गर्नुपर्नेमा स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिले विद्यालयको विनास गर्नेतर्फ अग्रसर भएको उनले बताए । २०६६ सालमा स्थापना भएको सो विद्यालयका विद्यार्थी सोही बाटो भएर विद्यालयमा आउने गरेकोमा अहिले आएर वडा अध्यक्षले सो बाटो निजी रूपमा कब्जा गरेपछि विद्यार्थीहरूको पढाइ प्रभावित भएको उनले सुनाए ।
विद्यालयमा आउने बाटो कब्जा गरेका वडा अध्यक्ष उपरमा सम्मानित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा निषेधाज्ञा दायर गरेकोमा फागुन २२ गते छलफलका लागि तारिक तोकिएको प्रधानाध्यापक आलमले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञाको सूचना पाएका वडा अध्यक्षले बाटैमा इँटाको पर्खाल लगाएका छन् । विद्यालयमा जाने बाटो किन अवरोध गरेको भन्दा उल्टै कुटपिट गर्ने धक्की दिने गरेको उनले बताए । कब्जा गरेको बाटो खुलाउनका लागि नगरप्रमुख र उपप्रमुखलाई जानकारी गराउँदा कुनै सुनवाइ नभएको उनले गुनासो गरे ।
प्रतिक्रिया