‘मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए ।

‘संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकताबद्ध प्रयास आवश्यक छ’, मंगलबार सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उनको भनाइ छ । उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टि आवश्यक रहेको चर्चा गरे ।

आजका लागि नभई भावी पुस्ताका लागि पनि आधार र जग बन्नेगरी पूर्वाधार निर्माण जरुरी रहेको उनले चर्चा गरे । ‘कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन, पछिल्लो पुस्ताका लागि पुग्नेगरी काम गर्नुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिंगो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताए । ‘अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र संकल्पको आवश्यकता ठानेको छ’, उनले भने, ‘राजनीतिक, भौगोलिक र सामाजिक चुनौतीहरू सामना गर्न राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।’

उनले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताए । ‘यी सबै कुराबाट खारिएर उभिन सक्नेले समाज, गाउँ, क्षेत्र, प्रदेश र सिंगो राष्ट्रको उन्नति र प्रगतिका लागि योगदान दिनसक्छ, त्यसका लागि नेतृत्व गर्न सक्छ भन्ने नागरिकको अपेक्षा छ । त्यो खालको सोच भएकाहरूको एकताबद्ध राजनीतिक दलहरूको प्रयासका आधारमा चुनौती सामान गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया