राष्ट्रपति सिले समकक्षी पुटिनलाई भने– हामीले बाहिरी हस्तक्षेपको विरोध गर्नुपर्छ

बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुवै देशले बाहिरी शक्तिहरुको हस्तक्षेपको विरोध गर्नुपर्ने बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

नयाँ चन्द्र वर्षको अवसरमा दुवै नेताबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सिले उक्त कुरा बताएका हुन् । बेइजिङ र मस्को कट्टर साझेदार हुन् र छिमेकी युक्रेनमा रुसको आक्रमणलाई लिएर धेरै मुलुकले विरोध गरे पनि उनीहरूले आफ्नो सम्बन्धलाई सुदृढ बनाएका छन् ।

दुवै पक्षले उच्चस्तरीय भ्रमणहरू र संवादको निरन्तर प्रवाहलाई कायम राखेका छन् र उनीहरूबीचको व्यापार सन् २०२३ मा कीर्तिमानी उचाइमा पुगेको छ ।

बिहीबार फोन वार्तामा सिले दुवै मुलुकले रणनीतिकरूपमा नजिकबाट सहयोग गर्नुपर्ने, आ–आफ्ना मुलुकको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नुपर्ने र बाहिरी शक्तिहरूको आन्तरिक मामिलामा हस्तक्षेपहरूको दृढताका साथ विरोध गनुपर्ने बताएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सिसँग चीन र रुसबीचको सम्बन्ध अभूतपूर्वरूपमा उच्चस्तरमा रहेको बताएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ । बेइजिङले युक्रेन युद्धमा आफू तटस्थ रहेको जोड दिँदै युद्धमा युक्रेनका सहयोगीहरूबाट आफ्नो अडानका लागि आलोचना गरेको छ ।

क्रेमलिनको विज्ञप्तिमा भनिएको छ, ‘एसिया–प्रशान्त क्षेत्रको स्थितिमाथिको छलफलमा रुसी राष्ट्रपतिले ताइवान मुद्दामा आफ्नो सैद्धान्तिक स्थिति पुष्टि गर्नुभयो, त्यो ‘एक चीन नीतिको समर्थन गर्नु हो ।’

सिसिटिभीको रिपोर्ट अनुसार चिनियाँ राष्ट्रपति सिले चीन र रुसले एकसाथ धेरै आँधीबेहरीको सामना गरेको बताए । ‘अगाडि हेर्दा चीन–रुस सम्बन्धले विकासका नयाँ अवसरहरूको सामना गरिरहेको छ’, उनले भने ।

प्रतिक्रिया