बारा । झन्डै ४० हजार बढी जनसंख्यासँग प्रत्यक्ष सरोकार राख्ने पचरौता नगरपालिका अहिले आर्थिक समस्याले सकसमा परेको छ ।
छिमेकी देश भारतको बिहार राज्यको सिमानासँग जोडिएको पचरौता नगरपालिका २०७४ सालमा स्थापना भएको हो । तत्कालीन पिपरपाती पचरौता, पकडिया चिकनी, बेल्दारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर गाविस–१ र २ तथा कुडवा गाविस मिलाएर बनेको पचरौता नगरपालिका झण्डै ४४ दशमलव शून्य १ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पचरौता नगरपालिका–७ लाई केन्द्र बनाएर स्थापना भएको उक्त नगरपालिका पूर्णरूपमा विकसित हुन सकेको छैन । नगर क्षेत्रमा आवश्यक पूर्वाधारको अझै कमी छ ।
विकास उन्मुखतर्फ लम्किरहेको पचरौता नगरपालिकामा संघ तथा प्रदेश सरकारले उचित बजेट विनियोजन नगर्दा विकास निर्माणका काम प्रभावित भएको छ । राजस्व संकलनका आधारहरू अत्यन्तै न्यून रहेको पचरौता नगरपालिकामा आउने राजस्व वाँडफाँडको रकममा समेत कटौती हँुदा अहिले कार्यालय सञ्चालनमा समेत समस्या भएको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले गुनासो गरे ।
‘बजेट अभाव भएकै कारण करारका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ’, उनले भने, ‘तलब दिन नसक्ने भएपछि ११ जना कर्मचारीलाई हटाउनुपरेको छ ।’ कार्यालयमा कामको चाप बढी भएर कर्मचारीको आवश्यकता हुँदाहँुदै पनि आर्थिक समस्याका कारण स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका कर्मचारीलाई हटाउन वाध्य हुनुपरेको उनले बताए ।
नगर क्षेत्रका जनतालाई सेवा दिन सडक, स्वास्थ्य भवन, नाला, बिजुली, विद्यालय भवन, कुलो लगायतका संरचना निर्माण गर्नुपर्ने अवस्था छ । तर जनताको माग र चाहना बमोजिमको संरचना निर्माण गर्न बजेट व्यवस्थापन गर्न समस्या भइरहेको उनले बताए । बजेट अभाव भइरहेको बेलामा संघ सरकारले पालिकालाई पठाउनुपर्ने राजस्व वाँडफाँडको रकममा गत वर्ष दुई करोड रुपैयाँ कटौती गरेको उनले आरोप लगाए ।
‘गत वर्ष राजस्व वाँडफाँडको दुई करोड रुपैयाँ पठाउँदै पठाएन’, उनले भने, ‘यस वर्ष पनि त्यस्तै हाल छ ।’ सरकारले अहिलेसम्म साढे चार करोड रुपैयाँ राजस्व वाँडफाँडको रकम पठाउनुपर्ने हो । तर अहिलेसम्म दुई करोड रुपैयाँ मात्र पठाएको उनले गुनासो गरे । संघ सरकारबाट प्रत्येक वर्ष कम्तीमा ९ करोड ३० लाख रुपैयाँ राजस्व वाँडफाँडको रकम पालिकाले पाउनुपर्ने हो । तर त्यो रकम अहिले पाउन नसकिएको उनले गुनासो गरे ।
‘संघ र प्रदेशबाट छुट्याइएको बजेटकै आधारमा योजना छनौट गरेका थियौँ’, पचरौता नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मी यादवले भने, ‘पर्याप्त बजेट नआएपछि तोकिएको योजना कसरी अगाडि बढाउने ?’ संघ सरकारको लापरवाहीकै कारण स्थानीय सरकार अनिर्णयको बन्दी बनेको उनको भनाइ छ । संघ सरकारले पालिकाको लागि छुट्याएको राजस्व वाँडफाँडको सम्पूर्ण रकमसहित थप योजना पचरौता नगरपालिकालाई उपलब्ध गराउन उनले संघ तथा प्रदेश सरकारसँग आग्रह गरे । नगरपालिकाले नगर क्षेत्रका किसान, विद्यार्थी, ज्येष्ठ नागरिक, सुत्केरी सबैले सेवा लिने गरी योजनाहरू सञ्चालनमा ल्याएको उनले जानकारी दिए । बाराको १६ वटै पालिका मध्ये पचरौता नगरपालिका अत्यन्तै न्यून आय भएको नगरपालिकाको सूचीमा छ ।
प्रतिक्रिया