इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले कृषि उपज उत्पादनमा प्रोत्साहन विशेष अनुदानको व्यवस्था गरेको छ । माङसेबुङले कृषि उपज उत्पादनमा वृद्धि गराउने उद्देश्यले विभिन्न ६ प्रकारका कृषि उत्पादनमा प्रत्यक्ष किसानलाई अनुदान दिने व्यवस्था गरेको हो ।
माङसेबुङ गाउँपालिकाको कृषि उत्पादन प्रोत्साहनसम्बन्धी कार्यविधि पारित गरी माङसेबुङले स्कुस, माल बाँस, केरा, पहेँली दाल, दूध र कफी उत्पादनमा किसानलाई अनुदान दिँदै आएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा माङसेबुङ गाउँपालिकाका ३ सय ८८ जना किसानले उत्पादन प्रोत्साहन अनुदान पाएको गाउँपालिका प्रवक्ता एवं कृषि प्रोत्साहन कार्यक्रमका अनुमगन समिति संयोजक सुसन राईले जानकारी दिए । उनीहरुले प्रोत्साहन बापत ३४ लाख ४१ हजार ४ सय ८ रुपैयाँ पाएको उनले जानकारी दिए ।
प्रवक्ता राईका अनुसार गत वर्ष स्कुसमा ७० जना किसानले १५ लाख ४७ हजार, माल बाँसमा १ सय ४७ किसानले ६ लाख ६९ हजार ४ सय र केरामा ५४ किसानले ४ लाख १९ हजार २ सय प्रोत्साहन रकम पाएका छन् ।
त्यस्तै, पहेँली दालमा ७१ किसानले ५ लाख ६९ हजार ५ सय ५४, दूधमा १२ किसानले १ लाख १९ हजार ३ सय ६४ र कफीमा ३४ किसानले १ लाख १६ हजार ८ सय ९० प्रोत्साहन बापत अनुदान रकम पाएका छन् ।
किसानले जति धेरै उत्पादन गर्छन् त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था रहेको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । उनका अनुसार माङसेबुङले ३० झ्याङ वा सो भन्दा बढी स्कुस रोपेका किसानलाई प्रतिझ्याङ पाँच सय अनुदान उपलब्ध गराउँदै आएको छ ।
३५ झ्याङ वा सो भन्दा धेरै माल बाँस रोपेका किसानलाई प्रतिझ्याङ एक सय उपलब्ध गराउँदै आएको माङसेबुङले ७० झ्याङ वा सो भन्दा धेरै केरा रोपेका किसानलाई प्रतिझ्याङसय रुपैयाँ दिँदै आएको छ । त्यस्तै, १ सय ५० केजी वा सो भन्दा धेरै पहेँली दाल उत्पादन गरेका किसानलाई प्रतिकेजी २०, दैनिक १५ लिटर वा सो भन्दा धेरै दूध उत्पादन गरेका किसानलाई प्रतिलिटर दुई र ५० केजी वा सो भन्दा धेरै कफी उत्पादन गरेका किसानलाई प्रतिकेजी २० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
माङसेबुङले चालू आवका लागि कृषि प्रोत्साहन अनुदानमा ३० लाख रुपैयाँ विनियोजन गरेको छ । व्यावसायिक कृषि उपज उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै जनताको जीवनस्तर उकास्नका लागि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘पछिल्लो पुस्ताको युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । त्यसलाई हटाउँदै कृषि क्षेत्रमा नै व्यावसायिक बनी आत्मनिर्भर बन्नमा प्रोत्साहन गर्न कार्यक्रम लागू गरिएको हो’ उनले भने ।
माङसेबुङ कृषिमा सम्भावना बोकेको गाउँपालिका हो । झापाको दमक र विर्तामोड नजिकको दुरीमा भएका कारण त्यहाँ उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्न पनि सहज छ । समुन्द्र सतहबाट ५१ दशमलव ५ देखि २ हजार २० मिटरसम्मको उचाइमा रहेको माङसेबुङको माथिल्लो क्षेत्रमा दूध र स्कुस उत्पादन हुने गर्दछ । तल्लो क्षेत्रमा दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ । मध्यम क्षेत्रमा भने कफी उत्पादन हुने गर्दछ ।
इलाम
प्रतिक्रिया