राममन्दिरको प्राणप्रतिष्ठामा जानकी मन्दिरबाट पाहुर पठाइने

जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर (कोसेली) पठाइने भएको छ । त्रेता युगामा जनकपुरधाम र अयोध्याको बीच रहेको आदीकालिन सम्बन्धलाई अझ प्रगाढ बनाउने उदेश्यले जानकी मन्दिरले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सयौको संख्यामा भार पाहुर (कोसेली) पठाउने जानकी मन्दिरले जनाएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको अगुवाइमा शनिबार भएको सर्वपक्षिय बैठकले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधामबाट उल्लेखनीय संख्यामा पाहुर (कोसेली) पठाउने निर्णय भएको हो ।

त्यसका लागि जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्थ राम तपेश्वर दास संरक्षण रहने गरी जानकी मन्दिरका छोटा महन्थ राम रोशन दासको संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको छ ।

मिथिला परम्पराअनुसार छोरीको नयाँ घर निर्माण भई घरबासको अवसरमा माइती पक्षबाट आभूषण, लत्ताकपडा र वर्षभरिको खानाको सामग्री पठाइने गरिन्छ । सोही अनुरूप जानकीजीको माइत पक्ष जनकपुरधामबाट ती सामग्रीहरू पठाइन लागिएको जानकी मन्दिरका छोटा महन्थ तथा समितिका संयोजनक रोशन दासले जानकारी दिए ।

जनकपुरधामबाट आउँदो माघ १९ गते अर्थात ४ तारिखका दिन अयोध्याका लागि पाहुर यात्रा सुरु हुने उनले बताए । बैठकमा उनले जनकपुरधामवासीलाई विभिन्न प्रकारका पकवान वा फलपूmल तथा अन्य सामग्री सहयोग गर्नका लागि आग्रह गरे । जानकीजी सम्पूर्ण मिथिलावासीको छोरी रहेका उल्लेख गर्दै उनले भने, ‘यसकारण आफ्ना छोरीको घरवासको अवसरमा आफूखुसी केही सामग्री दिएर भार यात्रामा सहयोग गर्न नगरवासीसँग अपिल गर्छु ।’

बैठकमा उत्तराधिकारी महन्थ रोशनले त्रेता युगपछि पहिलोपटक अयोध्या भार जान लागेका कारण यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण नगरवासीसँग आग्रह गरे । उनले ४ तारिखमा यहाँबाट निष्कने कार्यक्रम रहेको हुनाले ३ तारिखमा जे जति सामान हुन्छ जानकी मन्दिरमा पु¥याउन आग्रहसमेत गरे ।

उनले जनकपुरधामबाट जलेश्वरनाथबाट हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ हुँदै गढीमाई हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए । भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगरगेट हुँदै बेतिया कुशीनगर सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । अध्योध्या पुगेको भोलिपल्ट ६ तारिखको ९ बजे विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया