भारतबाट उद्धार गरिएको ८ बालकले भेटे परिवार

रौतहट । रौतहटको विभिन्न पालिकामा घरका र लामो समयदेखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । जिल्लाको दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार उनीहरुको अभिभावकको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको थियो । करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो । उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेका छन् ।

विभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरू त्यहाँका ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ती बालकहरूको उद्धार गरेको थियो । उद्धार पछि ती बालकहरूलाई मुम्बईमा रहेको बाल गृहमा राखिएको थियो । १८ वर्ष उमेर नपुगेसम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरूमा कारबाही गर्दै आएको बताएको छ ।

नेपालका बालकहरू बाल गृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको संयुक्त प्रयासमा ती बालकहरूलाई परिवारको जिम्मा लगाइएको हो । ग्रामीण विकास केन्द्र नेपाल गौर, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद्, र जिल्ला स्थितका सरकारी निकायहरूको समन्वयमा ती बालकहरूको उद्धार गरिएको थियो ।

प्रतिक्रिया