सर्लाही । दूध बिक्न छाडेपछि पशुपालक कृषक समस्यामा पर्न थालेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूध लिन छाडेपछि सर्लाहीसहित देशैभरका किसान र डेरी सञ्चालक मर्कामा परेका हुन् । आफूसँग पाउडर दूध स्टक रहेको भन्दै डिडिसीले किसानको दूध किन्न छोडेको छ । किसानहरू भने दूध बिक्न छाडेपछि घर खर्च धान्नै मुस्किल परेको बताउँछन् ।
लालबन्दी नगरपालिका–१६ मा रहेको महिला साना किसान कृषि सहकारी संस्थामा दैनिक चार सय किसानबाट २८ सय लिटरको हाराहारीमा दूध संकलन हुन्छ । तर, डिडिसीले दुई महिनादेखि भुक्तानी रोक्दा सहकारीलाई समेत समस्या पर्न थालेको छ । हरेक १५÷१५ दिनमा भुक्तानी गर्ने भनेर सम्झौता गरेको भए पनि आफूसँग माल स्टक रहेको र बिक्री नभएको कारण देखाउँदै डिडिसी भुक्तानी दायित्वबाट पन्छिने गरेको सहकारीकी प्रबन्धक मधु गौतमले गुनासो गरिन् ।
किसानको करिब दुई करोड रुपैयाँ डिडिसीबाट आउन बाँकी रहेको उनले सुनाइन् । सहकारीले आफ्ना ऋणी पशुपालक किसान र आफ्ना सेयर सदस्यहरूको पनि सबै दूध खरिद गर्न नसकिएको जनाएको छ । डिडिसीले आफ्नो भुक्तानी रोकेको भए पनि बैंकबाट १२ प्रतिशत ब्याजदरमा कर्जा लिएरै अहिलेसम्म किसानको भुक्तानी भने नरोकिएको प्रबन्धक गौतमले बताइन् ।
दैनिक ३५ सय लिटर माथिको दूध संकलन हुने सहकारीमा डिडिसीको बेइमानीले अहिले सबै दूध खरिद गर्न नसकिएको सहकारीले जनाएको छ । अर्कोतर्फ सहकारीसँग २२ सय लिटरको चिस्यान मेसिन (चिलिङ भ्याट) रहेको कारण पनि किसानको सबै दूध संकलन गर्न सम्भव नभएको सहकारीकी अध्यक्ष मीना स्याङ्तानले जानकारी दिइन् । आगामी महिना अर्को भ्याट मेसिन खरिद गरेर मात्रै बाँकी किसानको दूध संकलन सम्भव हुने अध्यक्ष स्याङ्तानले बताइन् । यद्यपि भ्याट मेसिन खरिद योजना डिडिसीको व्यवहारमा निर्भर हुनेछ ।
अहिले कतिपय डेरी र निजी संस्थाले दूध संकलन बन्द गरेका छन् । डिडिसीले किसानको पैसा नदिएको थाहा पाएर निजी संस्थाहरूले पनि दूध लिन र पैसा दिन विभिन्न बाहाना बनाएर रोक्न थालेका डेरी सञ्चालकहरूको गुनासो छ ।
लालबन्दी बजारमा सबैभन्दा धेरै दूधका परिकार बिक्री गर्ने जय सन्तोषी माता डेरी पसलका सञ्चालक केशवराज खरेलले डिडिसीले आफ्नो १५ लाख रुपैयाँ रोकेको बताए । उनले ऋणधन गरेरै आफूले किसानको अघिल्लो महिनासम्मको भुक्तानी गरिसेको तर, अब भने नसक्ने अवस्थामा रहेको गुनासो गरे । खरेलका अनुसार कमिसन दिने डेरी र सहकारीको पैसा डिडिसीले अहिले पनि रोकेको छैन । तर, आफ्नो पैसा पाँच महिनादेखि रोकिएको उनले सुनाए ।
नवलपुरमा दूध डेरी सञ्चालन गर्दै आएका सुदीप कार्कीले डिडिसीले पुरानो पैसा पनि नदिएको र दूध पनि लिन छोडेकाले व्यवसाय नै बन्द गर्नुपर्ने स्थितिमा पुगेको दुःखेसो गरे । दूधका अन्य परिकार पनि खासै बिक्री नहुने र ऋण गरेर किसानको दूधको पैसा तिर्न सम्भव नभएको उनले बताए ।
दूध पनि बिक्री नभएको र डिडिसीले पुरानो पैसा पनि नदिएको भन्दै केही समय अघि हरिवनका किसानले सडकमै दूध पोखेका थिए । डिडिसीले भारतबाट पाउडर दूध ब्ल्याकमा किनेर यहाँका किसानलाई समस्यामा पारेको कतिपय डेरी सञ्चालकको आरोप छ ।
कतिपयले भने किसानलाई विभिन्न सहुलियत दिएर पशुपालन गर्न प्रोत्साहन गरेको सरकारले दूध व्यवस्थापनमा ध्यान नदिँदाको परिणाम अहिलेको अवस्था आएको बताए । जिल्लामा पछिल्लो केही वर्ष यता पशुपालक किसानको संख्या बढेको छ । गाईभैँसीको दूध बेचेर गर्जो टार्दै आएका किसानलाई दूध बिक्न छाडेपछि घरव्यवहार चलाउन समस्या पर्न थालेको छ ।
सर्लाही
प्रतिक्रिया