सुन्तलीको सुनचाँदी पसल

सुन्तली सुनार

लमजुङ । सदाबहार हँसिलो देखिने, कठिन संघर्षपछिको सफल महिला व्यवसायीको रूपमा चिनिन सफल लगनशीलता तथा एकल मिहिनेतले खारिँदै बनेको व्यक्तित्वकी धनी उनी हुन्, सुन्तली सुनार । विगत १५ वर्षदेखि लमजुङ सदरमुकाम बेँसिशहर–८ सेरा ओरालोमा सञ्चालित सुन्तली सुनचाँदी पसलको प्रोपाइटरका रूपमा क्रियाशील छिन् उनी । धेरै समयको मिहिनेतपछि २०६५ सालमा आफ्नै नाममा दर्ता गरेर सञ्चालन गरेको हो सो पसल ।

उनको जन्म तनहुँको साविक चोक गाविस–५ मा भएको हो । बुबा जीतबहादुर सुनार र आमा अन्नपूर्ण सुनारको सन्तान हुन् उनी । सुनार डेढ वर्षको हुँदा वैदेशिक रोजगारीका लागि भारततर्फ गएका उनका बाबु कहिले फर्किएनन् । बाबु नफर्किएपछि उनलाई आमाले नै हुर्काइन् । सुनारका बाबु बिदेसिँदा आमा अन्नपूर्ण २१ वर्षकी मात्रै भएको सुनारले बताइन् । त्यतिबेला त्यो समाजमा छोरी पढाउने चेतनासमेत नआएका कारणले उनले स्कुलमा शिक्षा हासिल भने गर्न पाइनन् । फेरि परिवारमा आफू एक्लो छोरी भएकाले पनि आमालाई काम सघाउनुपर्ने बाध्यता थियो उनलाई ।


उमेर बढेसँगै उनले आफ्नो पढ्ने रहर पूरा गर्न माइलाबा का छोरा (भाइ) का साथमा साँझ बिहान सहयोग मागिन् । भाइको सहयोगमा आफ्ना लागि काम चलाउ लेखपढ तथा हिसाब राख्न सक्ने भएको उनले बताइन् । सुनारको विवाह १३ वर्षकै उमेरमा लमजुङको गाउँसहर गाविस–४ का रामबहादुर सुनारसँग भयो । बाल्यकालमै विवाह भएको उनको श्रीमानको २०७२ सालमा निधन भयो । उनको चार छोरी र एक छोरा छन् ।


सन्तान मध्ये तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी र छोराको विवाह हुन बाँकी रहेको उनले बताइन् । बाल्यकालमै विवाह गरेकी सुनारको सानैदेखि सुनका गहना बनाउने सोख थियो । व्यवसाय सञ्चालन गर्नुभन्दा पहिला उनको जीवन दुःखले बितेको उनले बताइन् ।

गोठालो जाँदा एकदिन आमालाई सम्झेर मनन गर्दै भनिछन्, ‘म पनि छोरा भएको भए घरमै बसेर आफ्नै ठाउँ बाइसजागरमै पसल चलाएर आमालाई पालेर बस्ने थिए नि ! छोरी भएर पराइ घर आउनु पर्यो । यसमा पनि आफ्नो कोखबाट सबै छोरा नहँुदा घरको पनि हेला भएको छु आमा,’ भन्दै आमा सम्झेर रोएको उनले सुनाइन् । छोरा र छोरीका बीचमा भेदभाव गर्ने समाजमा उनले अनेक कुरा सुनिन् । एक दिन एक जना छिमेकीले भने, ‘तेरो लोग्नेले अब अर्कै बिहे गरेर बेँसिसहरमा गरगहनाको पसल गरेर बस्छ, त भने सधैँ यहीँ गोठालो हुने त हो नि !’ उनले यतिसम्म सुन्नप¥यो । छिमेकीको भनाइले उनलाई इख जाग्यो, ‘त्यस्तो हो भने म आफैँ गहना बनाउने काम किन नसिक्ने ! भन्ने उनलाई लागेछ ।

त्यसपछि एक महिनाको सुत्केरी उनले ढोका थुनेर सुनचाँदीको काम सिक्न थालिन् । घरको ढोका लगाएर बुहारी के गर्छे ? भन्ने ससुराले बुझ्न आउँदा ढोका खोलेर डराइडराइ सुनचाँदीको काम सिक्न लागेको बा भनेको उनले सुनाइन् । बुहारीको कुरा सुनेर उनलाई हौसला दिँदै ससुराले भनेछन्, ‘राम्रो काम गर्न लाज मान्न वा डराउनु पर्दैन तँलाइ सिक्न मन छ भने बाहिरै बसेर सिक्दा हुन्छ ।’ ससुराको साथ पाएपछि उनले घरको पिढीमा नै त्यो काम सिक्न थालेको र सिकेको चार महिनामा सिक्री बनाउन सकेको उनले बताइन् ।

क्रमश तिलहरी, रिङ, टपजस्ता गहना बनाउन सिकेको उनले जानकारी दिइन् । यसका लागि उनले कुनै तालिम लिएर गुरु मान्नु परेन । ससुराबाले गरेको काम हेरेरै आफ्नो प्रयासले गहना बनाउन जानेको उनले सुनाइन् । केही समयपछि उनको श्रीमान वैदेशिक रोजगारबाट फर्केर आएपछि छोरी मात्रै भए अब विदेश नजाने निर्णय गरेपछि उनीहरू मिलेर बेँसिसहरमा पसल खोलेर बसेको उनले बताइन् ।

‘केही समयपछि छोरा जन्मियो । दिनहरू राम्रै चल्दै थिए । मानिसलाई गरेर खाएको रिस हुने रहेछ,’ उनले भनिन्, ‘२०६५ सालमा विवाह मान्न गएका बेला श्रीमानलाई गाउँसहरको जंगलमा पिटेर मर्यो भनी फ्याकेर छाडिएछ ।’ उनले विगत सम्झँदै भनिन्, ‘उहाँको उद्घार भई उपचार गर्दा केही ठिक भयो । तर त्यसपछि भने उनले काममा ध्यान नदिने, रक्सी मात्रै खाने, गर्दा कमलपित्तका कारण २०६९ सालमा श्रीमानको निधन भयो ।’

आँट भएकी उनले आमालाई पनि ल्याएर साथमा १५ वर्षसम्म पालेको स्मरण गरिन् । तर, आमाको पनि ६९ वर्षको उमेरमा निधन भयो । ‘श्रीमानसँगै आमाले पनि छाडेर गएपछि भने मन सम्हाल्न गाह्रो भयो । तर पनि छोराछोरीको मुख हेरेर मन बुझाएको छु’, उनले भनिन् ।

हिजो धेरै दुःख गरे पनि आज छोराछोरी पढाउने काम पनि पसलकै कमाइले भएको उनले बताइन् । सुखका अनुभूति बताउँदै उनले भनिन्, ‘श्रीमान् र आमाको साथ छैन भन्ने मात्रै हो आफूलगायत छोराछोरीले राम्रो गरेका छन् ।’ उनले सुनचाँदीको काम ३१ वर्षको उमेर सिकिन् । अहिले आफूसँगै अरू धेरैलाई काम सिकाएको उनले बताइन् । उनको कामलाई छोराले पनि साथ दिएका छन् । जिल्लाको सदरमुकाम बेँसिसहरमा महिला सुनचाँदी व्यवसायीको रूपमा उनले चर्चा कमाएकी छन् । लगनशील, मिहिनेत र अनुशासित, भएका कारण उनको व्यवसाय राम्रो छ । उनकै व्यवहारको कारण टाढाटाढाका महिलाहरू उनलाई खोज्दै गहना बनाउन आउँछन् । आँट र जागँर भए काम गरेर बाँच्न सकिन्छ भन्ने उनी उदाहरण हुन् ।

प्रतिक्रिया