सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने

काठमाडौं । यस वर्षको मनसुन आइतबार (असोज २८ गते) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो ।

यस वर्षको मनसुन एक सय २४ दिन जति नेपालमा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने कँडेलले जानकारी दिइन् । उनका अनुसार आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उनको भनाइ छ ।

पश्चिमी भू–भागमा गएराति पनि वर्षा भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असिनासमेत पर्दा बालीनालीमा क्षति पुर्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यय वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

काठमाडौंको वायुको तापक्रम १९ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता ६ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनले भनिन्, ‘आज काठमाडौंमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्डिग्रेडको बीचमा रहने सम्भावना रहेको र दिउँसोतिर काठमाडौंमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।’

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया