काठमाडौं । बि.स्टार फिल्मस् प्रालिद्वारा आयोजित ‘न्यू लुक बिस्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ मार्फत विभिन्न व्यक्ति सम्मानित भएका छन् । जमलस्थित सांस्कृतिक संस्थानमा सम्पन्न समारोहमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित गरिन् । २१ हजार १ सय ११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित तुलाधरलाई उक्त सम्मान प्रदान गरिएको हो ।
यस्तै, चर्चित लोकगायक विष्णु खत्रीलाई ‘दशकका गायक सम्मान’ र मोडल सनम कठायतलाई ‘दशकका मोडल सम्मान’ प्रदान गरियो । समारोहमा रंगपत्रकार सुशील नेपाललाई ‘युवा पत्रकारिता सम्मान’, गीता अधिकारीलाई पत्रकारिता सम्मान प्रदान गरियो । यसैगरी आइटी इञ्जिनियर राजेन्द्र अर्याल प्रविधि सम्मानबाट सम्मानित भए । समारोहमा अवार्डतर्फ सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड ‘बिन्ती बिसाई पाउमै छोएर’ गीतबाट प्रमोद खरेल, गायिकाको अवार्ड ‘धोकेबाज ३’ गीतबाट गायिका एलिना चौहानलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट आधुनिक गायक जुरीतर्फको अवार्ड ‘पागल बन्दै छु’ गीतबाट गायक प्रताप दास, आधुनिकतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘उसलाई पाउन २’ बाट सुनिल बिसी र रोशन सिंहलाई ‘कस्तो थिए कस्तो भए’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरियो । ‘ए जिन्दगी’ बाट जिम्बे राईले सर्वोत्कृष्ट आधुनिक पुरुष मोडलको अवार्ड, ‘यादमा’ गीतबाट स्मारिका ढकाल सर्वोत्कृष्ट आधुनिक महिला मोडलको अवार्ड हात पार्न सफल भइन् ।
लोकदोहोरीतर्फ ‘मोहनी’ बोलको गीतबाट खेम सेञ्चुरी र गायिकातर्फ ‘फुटेका चुरा’ बाट अनिता चलाउने सर्वोत्कृष्ट अवार्ड हात पारे । लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायक (पब्लिक च्यावाइस) अवार्ड गायक अर्जुन सापकोटाले पाउन सफल भए । मोडल विजय पुन र गीता ढुंगाना लोकदोहोरीतर्फका सर्वोत्कृष्ट मोडल बन्न सफल भए । करिब ८ वर्षको अन्तरालमा २ हजार ५ सय बढी म्युजिक निर्माण गर्न सफल कम्पनी बि स्टार फिल्मस प्रालिले मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो पहिलो संस्करणको अवार्ड कार्यक्रम गरेको हो ।
उक्त समारोहमा मन्त्री श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको विशिष्ट महत्व रहेको धारणा राखिन् । उनले कलाकारको सम्मानका लागि आयोजना गरिएको अवार्ड कार्यक्रमको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने कलाकर्मीलाई बधाईसमेत दिइन् । भिडियो निर्देशक बाबुराजा केसी ‘उज्ज्वल’, गीतकार एवं संगीतकार राजकुमार बगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा र भिडियो सम्पादक भीम रावल अवार्डमा निर्णायक रहेका थिए । आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले अग्रजको सम्मान र नयाँ कलाकारको प्रोत्साहनका लागि अवार्ड कार्यक्रम सुरु गरिएको बताए । उनले आगामी दिनमा अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा लैजाने बताए ।
प्रतिक्रिया