काठमाडौं । नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा साउदी अरेबियासँग हार बेहोरेको छ ।
शुक्रबार रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले साउदीसँग ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २२–२५ ले गुमाउन पुग्यो । नेपाल एक समय ९–४ ले अघि रहेपनि त्यसलाई कायम राख्न सकेन । १६–१६ को बराबरीबाट पछि परेको नेपालले लगातार ४ अंक गुमाएपछि खेलमा १६–२० ले पछि पर्यो ।
त्यसपछि नेपालले पूनरागमन प्रयास गरेपनि सफल हुन सकेन । दोस्रो सेटमा ९–१० को स्थितिबाट लगातार ३ अंक जोडेपछि नेपाल जिततर्फ अग्रसर बन्यो । दोस्रो सेट नेपालले २५–२१ ले जित्न सफल भयो ।
तेस्रो सेट नेपालले २३–२५ ले गुमाउन पुग्यो । खराव सुरुवात गरेको नेपाल तेस्रो सेटको सुरुमै २–७ ले पछि पर्यो । १४–२१ ले पछि रहेको नेपालले खेललाई २३–२४ को स्थितिमा ल्याएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको चौथो सेट नेपालले २७–२५ ले आफ्नो पक्षमा गर्दै खेललाई पाँचौ सेटमा लब्म्याए । एक समय १२–९ ले अघि रहेको नेपालले त्यसपछि अंक गुमाइरहँदा साउदीलाई खेललाई १४–१४ को बराबरीमा ल्याए । बराबरीकै अवस्थाबाट नेपालले अन्तिम २ अंक लिदै सेट आफ्नो पक्षमा पार्यो ।
निर्णायक तथा पाँचौ सेटमा पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्दा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन । १०–१२ को स्थिबाट लगातार ३ अंक जोडेर खेलमा १३–१२ ले अघि बढेपनि त्यो अग्रतालाई जोगाउन नसक्दा नेपालले नतिजा १४–१६ सुम्पन पुग्यो ।
च्यालेन्ज कपमा नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले बंगलादेशलाई ३–१ को सेटमा तथा अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो । यस हारसँगै नेपालको ४ खेलबाट ६ अंक पुगेको छ । पहिलो जित निकालेको साउदीको चार खेलबाटै ३ अंक छ ।
साउदीसँगको हारसँगै नेपालको शीर्ष दुईको सम्भावना झिनो बनेको छ । ७ अंकसहित श्रीलंका शीर्ष स्थानमा छ । समान ६ अंक जोडेका अफगानिस्तान दोस्रो र उज्वेकिस्तान तेस्रो स्थानमा छ । पाँचौं स्थानको बंगलादेशको २ अंक छ ।
लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ ।
६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।
प्रतिक्रिया