काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको बताए । ‘उहाँहरुले अस्थायी शिक्षकहरुको डिफेन्स लिन सक्नुभएन, एक जना गृहमन्त्रीको चंगुलमा फस्नुभयो’, अधिकारीले भने ।
तर शिक्षक महासंघले भने राहत शिक्षकको माग सम्बोधन भएको दाबी गरेको छ । ’राहत शिक्षकको विषयमा लामो छलफल भएको छ । राहत शिक्षकका अध्यक्ष नै सहभागी हुनुहुन्थ्यो तर अन्तिममा हिँड्नुभयो । विधेयकमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुल्ला गर्ने थियो । अहिले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला गर्ने सहमति भएको छ । असफल हुनेलाई आर्थिक सहयोग गर्ने भनिएको छ’, महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । उनले सबैको हितमा सहमति भएको दाबी गरिन् ।
प्रतिक्रिया