काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने नयाँ चलचित्र ‘रावायण’ मा पूर्वमिस नेपाल वल्र्ड तथा अभिनेत्री निकिता चाण्डक जोडिएकी छन् । निर्मात्री सुप्रिया कट्वालले चलचित्रको विशेष भूमिकामा चाण्डक अनुबन्धित भएको उल्लेख गरेकी छन् । गतसाता रामबाबु गुरुङको निर्माण र दीपक रौनियारले निर्देशन गरेको ‘राजागञ्ज’ को छायांकन सकाएकी निकिता अब सुदर्शनको यो चलचित्रमा व्यस्त हुनेछन् ।
रावायणमा निकिताको कस्तो खालको विशेष भूमिका हुने हो, त्यो कुरा चाहिं कट्वालले खुलाएकी छैनन् ।
यस चलचित्रको शीर्ष भूमिकामा यसअघि अभिनेता अनमोल केसी र अभिनेत्री नीति शाह पक्का भइसकेका छन् । सुदर्शन थापा प्रोडक्सनले बनाउने यस चलचित्रको छायांकन १२ असोजदेखि सुरु हुने प्रोडक्सन डिजाइनर प्रेम भोम्जन (पुष्कर लामा) ले जानकारी दिए । चलचित्रको काठमाडौं, हेटौँडा, सर्लाही र जनकपुरमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । भोम्जनले चलचित्रको छायांकन तालिका ४० दिनको छ । अभिनेता विराज भट्ट अभिनीत ‘साङ्लो’ बाट अभिनयमा पाइला टेकेकी अभिनेत्री निकिताले गत चैतमा काठमाडौंमा छायांकन भएको भारतीय र फ्रान्सेली सहनिर्माताको चलचित्र ‘द सेमलेस’ बाट अभिनयमा कमब्याक गरेकी थिइन् ।
प्रतिक्रिया