पोखरा, १४ माघ । जावलाखेल युथ क्लब पोखरामा जारी ११औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली भारतीय गोर्खा बिग्रेड टिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा भारतीय क्लब गोर्खा बिग्रेडलाई २–० ले पराजित गर्दै जावलाखेलले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भए पनि गोर्खाले दोस्रो हाफमा आफूलाई सशक्तरूपमा प्रस्तुत गर्न सकेन ।
खेलको ४७औँ मिनेटमा राज पौडेलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । त्यस लगत्तै १६ ं मिनेटको अन्तरमा जावलाखेलले पुन: अग्रता लिएको थियो । खेलको ६३औँ मिनेटमा जग्गुनाथ खड्काले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारेका थिए ।
आइतबार दोस्रोक्वार्टरफाइनलमा दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।
यसअघि शुक्रबार एनएमबी मच्छिन्द्र क्लबलाई पाराजित गर्दै आयोजक सहारा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । राजधानीमा जारी ‘ए’ डिभिजन लिगको सशक्त टिम मच्छिन्द्रलाई घरेलु मैदानको सदुपयोग गर्दै सहाराले १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको ८९औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै घरेलु टिम अन्तिम आठमा पुग्ने मौका पाएको हो ।
मच्छिन्द्रका सौरभ मगरले विदेशी खेलाडी योनालाई ढलाएपछि सहाराले पेनाल्टीको अवसर पाएको थियो । ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता योनाले नै गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।
सहारा क्लबले अब लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबको समना गर्नु पर्नेछ । मनाङ र सहारा क्लबले १६ माघमा अन्तिम क्वार्टरफाइनल खेल्नेछन् ।
घरेलु दर्शकको समर्थन रहेको सहारा क्लब पोखराले यसपटक पाँच जना विदेशी खेलाडी भित्राएको छ । उसले बाँसबारीका गोलकिपरसहित सरस्वती र बौद्ध क्लबका खेलाडीसमेत यसपटक उपाधि जित्ने दाउमा पोखरा रंगशालामा उतारेको हो । सहारा क्लबले यसअघिका कुनै पनि संस्करणको उपाधि जित्न सकेको छैन ।
प्रतिक्रिया