कार्डमा टासिएको जागीर

Manju-Bimaliलस्करका बीचमा थिएँ म । कामका लागि कार्ड पाउन पर्खिरहेका थिए अरू एक–दुई सय मान्छे पनि । त्यहाँ एजेन्सीको मान्छेले हस्ताक्षर गराएर कामका लागि कार्ड दिइँदोरहेछ ।
म पनि चार दिनदेखि त्यही कार्डका लागि ढुकिरहेकी थिएँ । बिहान ६ बजेदेखि नै लाइन लाग्दारहेछन् । म पनि त्यही लाइनमा बस्न पुगेकी थिएँ । राजु दिदीले ‘कार्ड दिएन भनेर हरेस नखानु एक दिन नदिए पनि अर्काे दिन त दिन्छ, गई रहनु पर्छ’ भनेकी थिइन् ।
बिहानै उठेर तयार भएँ । बसको रुट मिल्दैनथ्यो । बसमा गए पनि उत्रेर निकै हिड्नु पर्दथ्यो । साढे छ बजे नै सबै कामदारहरू लाइन लागिसक्थे, कार्ड पाउने आशामा । त्यहाँ कसैको पनि स्थायी काम थिएन । जसले कार्ड पायो त्यसैले काम पायो । म पनि त्यसै कार्डका निम्ति तीन–चार दिनदेखि लगातार धाइरहेकी थिएँ ।
म काम नपाएर छटपटी रहेकी थिएँ । कामको खोजीमा छटपटाइरहेका बेला एकदिन राजु दिदीको फोन नम्बर पाएँ । उनीसँगको फोन सम्पर्कपछि उनले भनेबमोजिम त्यो ठाउँ गएकी थिएँ । उनले भनेकी थिइन्– ‘त्यहाँ जानु पर्छ । कार्ड दिन्छ, दिँदैन ग्यारेन्टी चाहिँ हुँदैन तर पर्खिरहनु पर्छ ।’ अघिल्लो दिन उनले आफ्नो कारमा लगेको बाटो पछ्याउँदै भोलिपल्ट म त्यस ठाउँमा पुगेकी थिएँ ।
म पुग्दा कम्पनीको आँगनमा कामदारका आशलाग्दा आँखा लस्करै छरिएका थिए । म पनि त्यसरी नै लाइनमा बसेँ, कार्ड पाउने आशामा । साढे सात बजेपछि एजेन्सीका मान्छेहरूले कार्डको झोला खोले । सबै मानिसहरू जमजमाएर तयार भएर बसे, आफ्नो भाग्यमा आज काम छ कि छैन भनेर । उत्साहित भएर मैले पनि अरूको सिको गर्दै आशातीत आँखाले तिनका हात र अनुहारमा नियालिरहेँ । उसले मान्छे हेर्दै लाइनबाट छुट्याई छुट्याई, कार्ड नम्बर आफ्नो खातामा लेख्दै, हतार–हतार मान्छेलाई भित्र पढाउँथ्यो । कार्ड पाएको मान्छे पछाडि पनि नफर्की सरासर भित्र छिर्थे । यस्तो लाग्थ्यो मानौँ तिनले आज एउटा ठूलो युद्ध जितेका छन् । मभित्र भने कौतुहलता जागिरहेको थियो, यो कार्ड लिएर कहाँ जान्छन् होला मानिसहरू † त्यहाँ कस्तो काम गर्नु पर्छ होला ? हुन त राजु दिदीले भनेकै पनि थिइन्, ‘त्यो सिडी फ्याक्ट्री हो । मलाई त्यति थाहा छ । त्यहाँ कहिलेकाहीँ कामदारको कमी भइरहन सक्छ । पर्खेर बस्न चाहिँ सक्नुपर्छ ।’ यसै कुरालाई मनमा राखी धाउँदै जाने र नपाए फर्कने पनि मानसिकता बनाइसकेकी थिएँ ।
पहिलो दिन देखादेख मात्रै भयो एजेन्सीको मान्छेसँग । उसले त देख्यो देखेन । मैले भने अघाउन्जेल हेरेँ । त्यहाँ चार–पाँचजनाले कार्ड बाँडिरहेको देखियो । अरू जता जान्छन् उतैतिर गएँ म पनि । दोस्रो दिन पनि त्यसै गरियो कसैले दिएन । तेस्रो दिन एउटी महिलाले भनिन्– ‘एउटा एजेन्सीको मान्छेसँग मात्र बस्नु पर्छ, त्यसैलाई अनुरोध गर्नु पर्छ, उसैलाई पछ्याउनु पर्छ, चारतिर जाँदा त कसैले पनि दिँदैन त ।’ तीन–तीन दिनसम्म म कुहिरोको काग भएकी रहेछु । हुन त म अघिल्लो दिनदेखि एउटा सरदार बूढोलाई पछ्याइरहेकी थिएँ, यसले चाहिँ मेरो कुरा पक्कै बुज्छ कि भनेर । त्यहाँ एउटी बूढी हिन्दी भाषामा, ‘मेरेको भी काम दिजिए साब † मेरा पति अन्दर चले गये । अब मै कैसे घर जाएँ रास्ता भी पता नही है,’ भन्दै थिई । एउटी मोटी आइमाई उसको बूढोले कार्ड पाएछ उसले पाइनछ त्यसैले उनीहरू आज छुट्टिएछन् ।
आज चौथो दिन पनि कार्ड पाइएन । निरास भएर फर्केँ घर गह्रौँ खुट्टा घिसार्दै घिसार्दै । बिहान ६ बजेदेखि तयार, भएर तातो ओछ्यान छाडेर, पैतालीस मिनेटको बाटो पैदल यात्रा गर्दै गएर कम्पनीको आँगन र बारमा उभियो खुट्टा गलुन्जेल, चिसोको परवाह नगरीकन । एजेन्सीको मान्छे उसैगरी आएँछ । त्यसै गरी कार्ड बाँड्न थाल्छ छानी छानी । आफूबाट नजर हटाए, नजर परिहाले पनि । त्यहाँ मजस्ता सयाँै मानिस र कामदार फ्याक्ट्री भित्र पसे पनि कार्डको आशामा सलबलाइरहेका हुन्थे मलिन अनुहार लिएर ।
फ्याक्ट्रीमा धाएको पाँचौ दिन शनिबार थियो भाग्यले कार्ड पाइयो । कुनै कामदार नआएकाले बाटो खुल्यो मेरो । एजेन्सीको मान्छेको खातामा पहिलोपल्ट नाम चढ्यो मेरो । यहाँ पनि मलाई आफ्नो सही नाम दिन मन लागेन । केही दिनअघि एउटा मिठाई पसलमा काम खोज्न जाँदा अचानक जुटाएको ‘सीता’ नाम नै जुटाएँ त्यहाँ पनि ।
तीन–चार दिनसम्म पछ्याउँदा पछ्याउँदा मेरो नाम जानिसकेको सरदार बूढोले आज बल्ल खाता खोल्दियो– ‘ये लो कार्ड † अच्छा से काम करना’ ठूलो कालो फेटा टाउकामा गुथेको । जेल लगाएर सर्लक्क कोरेका दारी मसिनो जालीभित्र लुकाएको सरदार बूढो आज साह्रै असल लाग्यो । काम गर्ने फ्याक्ट्रीभित्र छिर्ने मौका दियो । सारै रमायो मन । सरदार साहब पहिलो धन्यवादको पात्र भयो ।
कार्ड पाएर फुरुङ हुँदै भित्र छिरो म । कार्ड इन्ट्री गर्नुपर्दाेरहेछ कार्ड रिडरमा । त्यसपछि दिनभरलाई काम गर्न अनुमति प्राप्त भयो । मनमा जोसजाँगरका साथ काम गर्ने फ्याक्ट्रीभित्र छिरो । पाँचौँ दिनमा पहिलोपल्ट मन केही अलमलियो पनि, आत्तियो पनि । झोला ज्याकेट एक ठाउँमा थन्क्याएर कामको टेबलमा आइयो । आउनुअघि नै त्यहाँ चिया नास्ता गर्दारहेछन् पुराना कामदारहरू । आफू त भरखर छिरेको चिया नास्ताको प्रबन्ध थिएन । एक छिन त्यत्तिकै यताउता हेरेँ । क्यान्टिनबाट तल कामको टेबलमा सबै ओर्लिए मोबाइल गोजीमा हालेर । मोबाइल साथैमा भए पनि फोन आउँदा उठाउन अनुमति थिएन । कसै कसैले लुकीछिपी उठाउँथे पनि । टेबलमा लाम लागेर उभिदारहेछन् । विभिन्न देशका विभिन्न खालका थिए उनीहरू । तर, मुख्य भाषा अंग्रेजी नै थियो । तामिलनाडुको थियो सुपर भाइजर । उसको बोली नै त्यहाँको कानुनजस्तो थियो । कामदारहरूलाई यताउता बाँडफाँड गर्ने काम पनि उही गर्दथ्यो । घुमिरहन्थ्यो यताउता । फ्याक्ट्रीभरि ठूलो आवाजमा तमिल भाषाको गीत बज्दथ्यो ।
यहाँको मुख्य काम भनेको चाहि फिल्मका सिडी, भिडियोको क्यासेट उत्पादन गर्नुरहेछ । हामीले हेर्ने वा हेरेका फिल्मका क्यासेट त्यस्तै ठाउँमा पो प्याकिङ हुँदारहेछन् । कार्टुनका कार्टुन सिडी क्यासेट र बक्स त्यहाँ भित्रँदा रहेछन् अनि त्यसलाई मिलाएर प्याकिङ गर्दारहेछन् । सिडी वा क्यासेटको खोलमा हालिने रंगिन चित्रयुक्त कागजलाई इन्लेस भनिँदो रहेछ । पहिला–पहिला नयाँ मान्छेलाई यही इन्लेस हाल्न लगाइँदो रहेछ । त्यो पनि चारैतिर मिलाएर छिटो छिटो गर्नुपर्दाे रहेछ । कतिको छिटो गर्न सक्तो रहेछ कामदारले भनेर सुपरभाइजरले नियालिरहँदो रहेछ । त्यति मात्र नभएर सिसी टिभीले हेरिरहेको हुँदो रहेछ । एउटी श्रीलंकन केटी साथीले काम गर्न सिकउँदै ‘दिस् दिस् पुट् क्विक’ भनेर एउटा पेपर क्यासेटको प्लास्टिकको खोलमा हालेर मलाई देखाई । मुखले बोल्नुभन्दा पनि हातले बढी इसारा गरी । उसले पनि अंग्रेजी बोल्न त्यही आएर सिकेजस्तो लाग्थ्यो । त्यहाँ काम गर्ने कसैले पनि अंग्रेजी राम्रोसँग बोल्न सक्दैनथे । सबैजसो तामिलबासी थिएँ । कोही कोही हिन्दी बोल्दथे । मैले पनि हिन्दी बोल्न त्यही काम गर्ने अफगानी, गुजराती, श्रीलंकन र पञ्जावीबाट सिकँे पछिसम्म पनि ।
बिहान ८ बजे कार्ड स्वेप गरेर कम्पनीभित्र छिरेकी म, एकपल्ट पन्ध्र मिनेट र अर्काेपल्ट आधा घन्टाको ब्रेकबाहेक अरू समय तैनाथ भएर टेबलमा ठिङ्ग उभिएर हात र दिमाग चलाउँदै दिन काटेँ । पहिलो दिन नयाँ ठाउँ । सबै नयाँजस्तै लाग्ने मान्छेहरू पनि । कति अप्ठयारा लाग्थे तिनीहरूका नाम पनि । धेरै दिन आउँदै फर्कंदै गरेको खल्लो मन एकदिनको काम प्राप्तिले पूर्ण गराइदिएको थियो । नयाँ काम, नयाँ ठाउँ भोलिका दिनको विश्वाश कमाउन र लगातार यहाँको कामदार भइरहने लोभ पनि लाग्यो । घरमा त्यसै बसिरहनु भन्दा त बिहानै आयो, लाइन लाग्यो, पाए पाइहालिन्छ कार्ड, नपाए अमिलो मन पार्दै फक्र्याे । यस्तै थियो यहाँको दिनचर्या । दिनभरि नै निकै व्यस्त रहियो । त्यहाँका मान्छे हप्ताको सातै दिन पनि काम गर्दारहेछन् पुराना पुरानाहरू । बेलुकी ८ बजे, काम सकियो । सबै आ–आफ्ना झोला बोकेर, हातमा कार्ड लिएर कम्पनीबाहिर निस्कन तयार भए । निस्कँदा फेरि कार्ड रिडरमा कार्ड स्वेप गर्नु पर्दाेरहेछ । कति घन्टा काम गरेको निस्किहाल्दो रहेछ । मैले पनि त्यसै गरेर बाहिरिएँ । आजको काम सकिएको थियो ।
काम सकेर घर पुग्दा कोही पनि आइपुगेको थिएन घरमा । उहाँहरू आइपुगेपछि दाजुले उत्सुकताका साथ सोध्नुभयो ‘काम कस्तो रहेछ त ?’ मैले भनेँ, ‘सफा सुन्दर ठाउँ । अन्तभन्दा त ठिकै लाग्यो ।’ भोलिपल्ट पनि बिहानै तयार भएर हिजोजस्तै पैदलै यात्रा गरेर समयमै पुगेर लाममा उभिई हालो । सधैँझैँ सरदार कार्डको झोला बोकेर आयो । मेरा आँखा उसलाई पछ्याउन थाले ऊ जताजता जान्छ, त्यतैत्यतै । अघिल्ला दिनझँै ऊ मान्छे छान्दै कार्ड बाँड्न थाल्यो । समय सकियो । मान्छे पनि घट्तै गए । मेरो पालो आएन । म हेरेको हेर्‍यै भएँ । ऊ आफ्नो कार चढ्यो र अरूजस्तै फुत्तै हुइँकिई हाल्यो । म निरुत्तर उभिरहेँ । सबै भित्र पसे । म फेरि आफ्नो झोलाको लन्च बोकेर गह्रौँ मनले खुट्टा घिसार्दै त्यही बाटो फर्केँ । आएर पुर्लुक्क ओछयानमा पल्टेँ थाकेर । काम गरेर थाक्नु भन्दा पनि नगरेरै पनि सारै थाकिँदो रहेछ । यसै गरी हप्ता बित्यो । मैले कार्ड पाइनँ । फेरि जान भने छोडिनँ । गई नै रहेँ । पहिलो दिनको कामको पैसा अर्को हप्ताको पहिलो दिन नै दियो । एक दिनको कामको कमाई तीस पाउन्ड थियो । नेपालीमा हिसाब गरी हेरेँ तीन हजार भएछ छक्कै परेँ ।
जे–जस्तो भए पनि मैले सात महिना यसरी नै धाइरहेँ । तर जम्मा सत्तरी दिनका लागि मात्र कार्ड पाएँ । पहिलो हप्तामा पाएको १ दिनको ३० पाउन्ड खुसीको प्रतीक भयो मेरो । मैले त्यसलाई नचलाईकन खुत्रुकेमा हालँे ल्याएर । त्यो मेरो फ्याक्ट्रीको पहिलो कमाइ थियो ।

प्रतिक्रिया