आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’

गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन् । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उनी विद्यालय आइरहेकी हुन् ।

‘खेतीको मौसम छ, विद्यालय पनि बन्द छ, काममा सहयोग गरिदिएहुन्थ्यो भनेर अभिभावकले आशा गर्नु स्वभाविकै हो’, सावित्री नेपालीले, ‘पढाइसँंगै सीप सिकेर भविष्यको आधार बनाउने इच्छा गरेपछि आमाबुबाले मलाई विद्यालय जान सहयोग गर्दै आएकी छन् ।’

चक्कुको सहयोगले बाँसका चोया काट्ने क्रममा धेरै सुरुआती दिनमा पटकपटक हात काट्दा त काम नगरौँ कि भन्ने पनि लाग्थ्यो रे उनलार्ई । तर सीप सिक्दै जाँदा अहिले पढाइसँगै बाँसका सामग्री बनाउने काम गर्न उत्साह बढेर आएको उनको भनाइ छ ।
सावित्री नेपालीसँगै सीप सिक्दै आएका पोखरा–१५ अमिनतराका सुभाष विश्वकर्मालाई आफूले बुनेका बाँसका सामग्री विद्यालयले मायाको चिनो भन्दै कोसेलीका रूपमा प्रयोग गरेको देख्दा भने आफूलाई निकै खुसी लागेको अनुभव सुनाए ।

विद्यालयमा मात्र होइन घरमा पनि बाँसका सामग्री बनाउने गरेको र यसमा अभिभावकको पनि सहयोग भएको उनको भनाइ छ । कक्षा १० मा अध्ययनरत विश्वकर्माले आफूहरूको समूहले पछिल्ला दिन सामूहिक रूपमा व्यवसाय गर्ने सोचसमेत बनाउने जानकारी दिए ।
नेपाली र विश्वकर्मा त प्रतिनिधि पात्र मात्रै हुन् । विद्यालयले वर्षे बिदामा सञ्चालन गरेको उक्त सीपमूलक तालिममा यतिखेर कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन् । बाँसका सामग्री निर्माणसँगै विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि स्टल राख्न पाउँदा खुसी लाग्ने गरेको विद्यार्थीहरूको भनाइ छ । विद्यालयको वार्षिकोत्सवमा बाँसका सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद वितरण गरिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्र्रहालयमा आयोजित पर्वतीय महोत्सवमा राखिएको विद्यालयको बाँसको सामग्रीको कक्ष सबैका लागि आकर्षक बनेको विद्यालयका सहायक प्रधानाध्यापक एवं तालिमका प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए । सो अवसरमा विद्यालयले सामग्री बिक्री गरेर १८ हजार आम्दानी गर्न सफल भएको थियो ।
उनका अनुसार विद्यार्थीले बाँस, करौती, चक्कु, कँैचीजस्ता घरेलु साधन प्रयोग गरेर घरयासी एवं होटलमा प्रयोग गर्ने कमल होल्डर, मन्दिर, टिस्यु पेपर बक्स, फोटो फ्रेम लगायतका आकर्षक सजावटका सामग्री तयार गर्दै आएका छन् । बिदाको समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सीप विकास तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले आफूले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । विद्यालयले दुई वर्षअघिदेखि उक्त तालिम सञ्चालन गर्दै आएको हो ।

पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले विद्यालयले यसवर्ष सञ्चालन गर्ने बाँसका सामग्री बनाउने तालिमको मंगलबार एक समारोहकाबीच उद्घाटन गर्दै विद्यार्थीलाई पढाइसँगै जीविकोपार्जनमा सहयोग पुग्ने यस्ता सीपमूलक कार्यक्रमका लागि वडास्तरबाट आवश्यक आर्थिक सहयोग गर्ने बताइन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसलाका लागि वडामा हुने औपचारिक कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित बाँसका सामग्री उपहारमा प्रयोग गर्ने थप बजारिकरणमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार विद्यालयले पढ्दै कमाउँदैअन्तर्गत सञ्चालित बाँसका सामग्री बनाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै कास्की जिल्लामा प्राविधिक विषयअन्तर्गत पहिलोपटक वन विज्ञानको पढाइ सुरु गरिएको छ ।
गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको बताउँदै उनले पहिलो वर्षमा १६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । विषयगत आठ जना शिक्षक शिक्षिकाले आंशिक शिक्षकका रूपमा अध्ययापन गराउँदै आएका छन् ।

विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको वन विज्ञान विषयको पढाइलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ । तीन वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट १ लाख २५ हजार शुल्कको व्यवस्था गरिएको र त्यसमध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०÷३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको वन विज्ञान संयोजक शंकर भण्डारीले जानकारी दिए ।
विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवं पोखरा महानगर, सिटिइभिटी र पोखरा–१७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनको भनाइ छ । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।

वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । २०२३ सालमा स्थापना गरिएको विद्यालयले २०३५ सालमा मान्यता प्राप्त गरेको थियो । विद्यालयमा ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तरीय शिक्षा कायम गर्दै प्राविधिक एवं सीपमूलक पढाइले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले जानकारी दिए । पछिल्लो सामुदायिक विद्यालयमा सात प्रतिशत विद्यार्थी भर्नादर बढेको उनको भनाइ छ ।

प्रतिक्रिया