काठमाडौं, ८ माघ : उपाधि होडको मनाङ–मस्र्याङ्दीलाई बराबरीमा रोक्दै साविक विजेता नेपाल पुलिसले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुपर एट प्रवेशको आशा कायमै राखेको छ ।
आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी मनाङसँग १–१ को बराबरी खेलेपछि पुलिस १४ चरणको समाप्तिमा आठौँ स्थानको सरस्वती क्लबभन्दा तीन अंकले मात्र पछि रह्यो । यता पछिल्लो समय एकपछि अर्को गरी खराब नतिजा निकालिरहेको मनाङ शीर्षस्थानको थ्री–स्टारभन्दा छ अंकले पछि रहेको छ । सिंगल लिगको बाँकी अन्तिम खेलमा मनाङले थ्री–स्टारविरुद्ध खेल्नेछ भने पुलिसको प्रतिद्वन्द्वी जावलाखेल हुनेछ । पुलिसको एक मात्र आशा रहेको सरस्वती भने अन्तिम खेलमा नेपाल आर्मीविरुद्ध भिड्नेछ । सरस्वती र जावलाखेल दुवै पराजित भए हेड टु हेडका आधारमा पुलिसले सुपर एट यात्रा तय गर्नेछ । तर, सरस्वतीको बराबरीको नतिजा पनि पुलिस उपाधिको थप यात्राका रूपमा रहेको सुपर एटमा पुग्न बाधक बन्नेछ ।
कम्तीमा अंक बाढ्ने दबाबका साथ मनाङविरुद्ध उत्रिएको पुलिसले २२औँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । योगश श्रेष्ठले फ्री–किकमार्फत गरेको प्रहार क्लियर गर्ने प्रयास गर्दा डिफेन्डर सर्विन्द्र श्रेष्ठले आफ्नै गोलपोस्टमा बल छिराउन पुगे । तर, आकर्षक मुभमा मनाङले ४१औँ मिनेटमा कप्तान अनिल गुरुङमार्फत गोल फर्कायो । निकै छरितो देखिएका मिडफिल्डर ज्याकोबले आधार तयार गरेको मुभमा नीराजन मल्लले डी–बक्सभित्र साइडमा बल निकाल्दै उपलब्ध गराएको अवसरमा अनिलले अगाडि बढेर गरेको प्रहार फस्ट बार हँुदै गोल भएको थियो ।
‘जसरी पनि जित्नुपर्छ भनेर आएको थियौँ तर गोलकिपरका कारण गोल बेहोर्यौँ,’ बराबरीपछि खुसी देखिएका पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, ‘मनाङ उपाधि दाबेदार टोली हो । उसको बलियो पक्ष विंगरलाई रोकेर खेल्ने प्रयासमा हामी सफल भयौँ । सुपर एटको आशा मारेका छैनौँ ।’
पछिल्लो समय मनाङ र पुलिसबीच लिगसहितका प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने गरेको छ । गत संस्करणको आफ्नो अन्तिम लिगमा मनाङले हराएपछि पुलिसको ४३ खेलको अपराजित लिग यात्रा टुंगिएको थियो । ब्रिटिस गोर्खाकपका दुई संस्करणमा मनाङले पुलिसलाई सेमिफाइनलमा पराजित गरेको थियो ।
आइतबार प्रदर्शन सुधार गर्दै पुलिसले कठिन चुनौती दिएको थियो । खेलको पहिलो अवसर पुलिसले सिर्जना गर्यो । बायाँ फलान्कबाट भोला सिल्वालले गरेको प्रहार मनाङका गोलकिपरले सानदार बचाउ गरे । पहिलो हाफमै भोलाले रिवाउन्डमा गरेको प्रहार विपक्षी गोलकिपरले रोके भने वन भर्सेस वनको अवसरमा भरत शाहलाई ट्याकल गरेर सर्विन्द्रले पुलिसलाई निराश बनाए । दोस्रो हाफमा भोलाले गरेको प्रहार बारमा लागेर फर्किदा पुलिस अग्रता लिने अवसरबाट चुक्यो । खेलको अन्त्यतिर वैकल्पिक खेलाडी जुमानु राईले वन भर्सेस वनमा बल फ्रेममा प्रहार नगर्दा पुलिस निराश बनेको थियो ।
‘पुलिसले आज राम्रो खेल्यो तर उनीहरूभन्दा हामी माथि थियौँ । रेफ्रीका कारण हामी बराबरीमा सीमित भयौँ,’ मनाङका प्रशिक्षक कृष्ण थापाले भने, ‘सुजललाई डी–बक्समा लडाउँदा रेफ्रीले विपक्षीलाई रातो कार्ड नदिनु र पेनाल्टी अवसरसमेत नपाउनु हाम्रा लागि टर्निङ प्वाइन्ट रह्यो ।’ यता सोही विषयमा पुलिस प्रशिक्षक विराटले सुजलको नियन्त्रणमा बल नभएका कारण त्यो फल नभएको बताए । दोस्रो हाफमा दुई डिफेन्डरलाई पार गर्दै वन भर्सेस वनमा निस्कँदा सुजल डी–बक्समा लड्न पुगेका थिए । थापाले टोलीको फिनिसिङ कमजोरी कायमै रहेको स्वीकार गरे । पहिलो हाफमा सुजलले हेडमार्फत गरेको प्रहार पुलिसका डिफेन्डर रवीन श्रेष्ठले गोल लाइनबाट बचाए ।
उत्कृष्ट लयमा देखिएका सुलभ मास्केले मध्यान्तर हुनुअघि राम्रो क्रस निकाले तर अनिलले राम्रो प्रयास गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको सुरुआतमै सुजलले क्रसमार्फत राम्रो अवसर निकालेका थिए तर बलभन्दा अनिल टाढै रहे । मनाङले विजयी गोल गर्ने अवसर सिर्जना भए पनि निर्धारित समयको खेल सकिन केही मिनेट मात्र बाँकी छँदा अनिलको क्रसमा सिकोले खालीपोस्टमा गोल गर्न सकेनन् । मनाङका मिडफिल्डरद्वय सुजल र ज्याकोबसहित डिफेन्डर सर्विन्द्रको प्रदर्शन सराहनीय रह्यो ।
अप्रत्यासित नतिजामा थ्री–स्टारलाई भारी अग्रता
मनाङ, मच्छिन्द्र र आरसिटीले अप्रत्यासित नतिजा निकालेपछि १४औँ चरणको समाप्तिमा थ्री–स्टारले ६ अंकको अग्रता लिएको छ । १४औँ चरणमा मच्छिन्द्र र आरसिटी पराजित भए भने मनाङले बराबरी खेल्यो । १३औँ चरणमा पुलिसलाई हराएर थ्रीस्टारले मच्छिन्द्र र आरसिटीसँग तीन तथा मनाङसँग चार अंकले अग्रता लिएको थियो । लगातार तीन हारको शृंखला टुंग्याएर उपाधि होडमा फर्किए पनि आरसिटीले पछिल्लो चरणमा सरस्वतीविरुद्ध पराजय बेहोर्यो भने मच्छिन्द्रले अन्तिम दुई खेलमा फ्रेन्ड्स र हिमालयन शेर्पासँग हार बेहोर्न पुग्यो । मनाङले अघिल्ला दुई खेलमा आरसिटीसँग हार र आर्मीसँग बराबरी खेलेको थियो ।
क्लब म्याच जित बराबरी हार अंक
थ्री–स्टार १४ १० २ २ ३२
आरसिटी १४ ८ २ ४ २६
मनाङ १४ ७ ५ २ २६
मच्छिन्द्र १४ ८ २ ४ २६
एनआरटी १४ ७ ४ ३ २५
आर्मी १४ ७ ४ ३ २५
फ्रेन्ड्स १४ ६ ६ २ २४
सरस्वती १४ ७ २ ५ २३
पुलिस १४ ५ ५ ४ २०
हिमालयन १४ ६ १ ७ १९
संकटा १४ ४ ५ ५ १७
एपिएफ १४ ५ ० ९ १५
जावलाखेल १४ ४ २ ८ १४
मध्यपुर १४ ३ ४ ७ १३
बाँसबारी १४ १ ३ १० ६
बौद्ध १४ ० १ १३ १
प्रतिक्रिया