धनगढी । सुदूरपश्चिम प्रदेशको कला,संस्कृति र पर्यटन प्रबद्र्धन गर्नका लागि पर्यटन व्यवसायी तथा सर्जक तपेन्द्र रावलले ‘है जिरा फूल्याको छै क्या ?, सुदूरपश्चिम आया है क्या’ देउडा गीतको सिर्जना गरेका छन् । सुदूरपश्चिममा धेरै पर्यटकीय क्षेत्र भएपनि प्रचार प्रसारमा भने कमी भएको गीतका सर्जक रावलले बताए । उनले भने ‘हाम्रो सुदूरपश्चिम प्रदेशमा धेरै पर्यटकीय क्षेत्रहरु छन् तर त्यसको प्रचार प्रसारमा कमी छ,सबै पर्यटकीय क्षेत्रलाई समेटेर है जिरा गीतको सिर्जना गरिएको छ’ ।
ज्ञान भूमि,तपोभूमि खप्तड…है जिरा फूल्याको छै क्या ?,खेलौला डेउडा तप्पड…खप्तडमा आइ जाया है क्या भनेर गीतमा पर्यटकीय क्षेत्रमा घुम्न निम्तो पनि गरिएको छ । गीतमा अछामको रामारोशन, बाजुराको बडिमालिका,बझाङको शैपाल, डडेल्धुराको उग्रतारा,कैलालीको घोडाघोडी,कञ्चनपुरको बेदकोटलगायत सुदूरपश्चिमका सबै पयर्टकीय क्षेत्रलाई समेटेको उनले बताए ।
गीतको भिडियो छायांकन भइसकेको र आर्थिक अभावका कारण पूरा हुन नसकेको उनले बताए । उनले भने ‘गीतको भिडियो छायांकन लगभग सकिएको छ, आर्थिक अभावले पूर्णता पाउन सकेको छैन् त्यसैले भिडियो सार्वजनिक गर्नमा ढिलाइ भएको छ ।’
गीतको रेकडिङ तथा भिडियो छायांकनमा करिब ३० लाख खर्च भएको र अझै ४ लाखसम्म लाग्ने र छिट्टै भिडियो सार्वजनिक गरिने बताइएको छ । उक्त गीतको भिडियो सुदूरपश्चिमका सबै पर्यटकीय स्थल र भारतको मुम्बईमा छायांकन गरिएको रावलले बताए । उक्त गीतमा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धनसँगै राज्यले विदेशी पर्यटकबाट बढी हवाई भाडा लिने गरेको र भाडा विदेशी वा स्वदेशी सबैलाई बराबर लगाउनु पर्ने कुरा पनि उठाइएको सर्जक रावल बताउँछन् ।
सर्जक रावल र गौरी भट्टले गाएको उक्त गीत संस्कृत, नेपाली, थारु, डोटेली, हिन्दी र अंग्रेजी भाषामा रहेको जनाइएको छ । एक मिनेटको डायलग र १६ मिनेटको गीत रहेको रावलले बताए । त्यस्तै गीतको निर्देशन, लय र शब्द रावलको रहेको जनाइएको छ ।
कैलाली
प्रतिक्रिया