दमिनी भीरमुनिको बाटो

Rajan-mukarung
‘कतिबेला आ’को ?’ टुसुक्क बसी लच्छी ।
‘काँ मरेको थिस् ?’ झम्टिहाल्यो कान्छोले लच्छीलाई ।
‘सौराज हेर्नु,’ विराट खुसी थियो लच्छीको भावमा । फुस्फुसाइरहेका थिए त्यसका ओठहरू ।
‘तँ, अचेल अर्कै भ’को छस्,’ पिच्च थुक्यो कान्छोले । अनुहार बिगार्‍यो । माड्दै गरेको खैनीको चुना फ्याट्फ्याट् पार्‍यो । भन्यो, ‘मलाई राम्रो लागेको छैन ।’
‘तँ मुर्दार्लाई मैले गरेको केही पन् राम्रो लाग्दैन । था नभ’को हो र ?’ ठुस्स परी लच्छी । परिदिई ।
‘अनि कस्तो रछ त तेरो बाजे ?’
‘आम्मामा ! बडेमानको,’ पुलकित थिई लच्छी । अझै हौसिई । भनी, ‘दस मनको भारी त एक्लै बोक्ने र’छ ।’
‘लु, नपत्याऊँ !’ कान्छोले पत्याएन । मनमा एकप्रकारको डाह पलायो ।
‘बोक्छ रे त्यति त ।’
‘भीमसिन हो र ?’
जैकुमार काकाले भनेको,’ उठी लच्छी । भनी, ‘पोर मधेस जाँदा देखेको अरे ! तेई आएछ भन्दै थे ।’
‘मन परो ?’
‘परो त ।’
‘तैसँग जानु नि त ।’
‘चखेवासम्म जाऊँ भन्दै थो । झन्डै ग’को । फेरि काम सम्झेर गैनँ,’ भनी लच्छीले ।
‘गएपछिन् केको चखेवासम्म मात्तै । जिन्दगीभरै जान्छु भन्नु नि ।’
‘नकरा है ! जे पायो तेई नभन् !’
‘अनि के त ?’
‘मैलेचैँ गाडी हेर्नु पनि नहुने ?’
‘अनि सौराज कि बौराज पो भन्दै थिस् त ?’
‘देवाहाङको टरक्को नाम हौ,’ ख्वाइँरय हाँसी लच्छी ।
‘हेँहेँहेँ !’ लामै हाँस्यो कान्छो ।
‘हेँहेँ !’ सनक्क आँखा मारी लच्छीले । बसी । भनी, ‘शंकालु मुर्दार् !’
साँघुरो ग्रामीण सडक । फन्फन्ति घुमाइएको छ गाउँभरि ।
सोनालिका, महिन्द्रा नामका ट्याक्टरहरू लस्करै लागेर आउँछन् भैरे डाँडो कटेर । ती हिले–लेगुवादेखि आएका हुन् । गर्‍हुंगो भारी बोकेर । भारीमा हुन्छन्– नुन, चिनी, तेल, चामल, मरमसला, चाउचाउ, साबुन, लत्ताकपडा, पाइप, च्यादर आदि–इत्यादि । अरू त्यस्तै खिच्रिङमिच्रिङहरू । यी सामानहरू पहिले यही बाटो भएर मान्छेहरूले बोक्थे । पछि पाइप र च्यादरबाहेक अरू खच्चरले बोक्न थाले । अहिले ट्याक्टरहरूले सिमेन्ट, फलामे छड र अरू गर्‍हुंगा सामानसमेत बोक्छन् । पोहरसम्म घण्ट बजाउँदै लस्करै आउँथे खच्चरहरू । खच्चरहरू विस्थापित भए । यही दमिनी भीरमुनिको बाटो भएर । यही बतासे डाँडो भएर । अहिले ट्याक्टरहरू आउँछन् हर्न बजाउँदै । धूलो उडाउँदै ।
बतासे डाँडोमा होटेल थापेकी छे रत्नाले । होटेलको मूल ढोकामाथि राखिएको छ साइनबोर्ड । बिस्कुट राख्ने बाक्साको खोलमा बनाइएको । बोर्डमा लेखिएको छ– राई होटेल । आलुदम, चाउचाउ, डिम्मा, चिउरा, थुक्पा, चिया पाक्छन् प्राय: । छनुवा र रक्सी त माग्नसाथ पाइन्छ । काठैकाठको घर बनाइदिएको छ देवाहाङले । कोठैकोठाको । पीपलको फेदमा भएकोले शीतल हावा चल्छ । बस्न आनन्द छ ।
पिंगल वर्णकी । सधैँकी हँसिली र फर्साइली छे रत्ना । झनै शीतल भइहाल्छ । राम्रै जम्न थालेको छ बतासे डाँडोमा ।
ट्याक्टरहरू बिसाउँछन् । सुस्ताउँछन् । र, अञ्चलडाँडोलाई फन्को मारेर जान्छन् उसरी नै हर्न बजाउँदै । धूलो उडाउँदै । त्रिशुले जंगल छिचोल्दै पर डौठेलालाई फेरो मार्दै हर्कटे पार गर्छन् । अनि लेगुवा–चखेवाको एक सय ६ किलोमिटरको यात्रा पूरा गरेर चखेवा भञ्ज्याङमा पुग्छन् । चखेवाको चिसो हावामा एकछिन् रमाउँछन् र भोजपुरलाई बिदा गर्दै लाग्छन् खोटाङतिर ।
त्यसपछि—
हप्तौँसम्म खोटाङतिरै बस्छन् क्यारे । उतै रल्लिँदा हुन् । उतै भुलिँदा हुन् नि । उस्तोना के चासो रत्नालाई ? फर्कंदा पहाडी चीजबीजहरू बोकेका हुन्छन् । विशेष: रातो पात्ले र उत्तिसका गोलियाहरू बोकेर फर्कन्छन् । थाहै छ– बिसाउँछन् राई होटेलमा । हँसिमजाक चलिहाल्छ । बाठी हो रत्ना पैलेदेखिन्कै । गुरुजी र खलासीहरूसँग मज्जैले मजाक गरिदिन्छे । मनखुसो गरेर, फुरुंग परेर जान्छन् लेगुवा–हिलेतिर ।
डिजेलको धुँवा उड्न थालेको छ कालोकालो । कस्तोकस्तो । गन्धचाहिँ अलि मन पर्दैन । धुलोका मुस्लाहरू आकासिन्छन् । रातै भएर, फुस्रै भएर । नम्बर प्लेटमा मधुरो देखिन्छन् ‘को १ त’हरू । ‘खुम्बुवान राज्य’ लेखिएका अक्षरहरू ठिम्माएरै पढ्नुपर्छ । ट्याक्टर नै किन नहोस् ? गाडी चढ्ने चाह पैल्यैदेखिन्को हो । ओर्लंदा भने धमिराले उठाएको ढिस्कोजस्ता भइसकिन्छ । देखिन्छ आँखा र मुख मात्र । मुखुण्डोधारीजस्तो पो ।
सीमसारको दलदलमा घन्टौँ भासिन्छन् ट्याक्टरहरू । ट्याक्टरमै हुन्छन् गैंती, बेल्चा, खुकुरी, कोदालोसमेत । मजदुर भएर अघिअघि सम्याउँदै जानुपर्छ यात्रुहरूले पनि । ठेल्नुपर्छ, तान्नुपर्छ गाडीलाई । र पनि चढ्नै मन लाग्छ ।
सदरमुकामदेखि पूरा सय रुपियाँ तिर्नुपर्छ । चाहको सामु पैसोको वास्ता लाग्दैन । खुरुक्कै तिरिन्छ । जुनी पो नपाउनु । नाथे, हातको मैलो ।
खच्चरका दिन गए अब । ढाक्रेका दिन त पहिल्यै सकेको हो खच्चरले । हुनेखानेले धरानदेखि दिक्तेलसम्मै रिजर्व गर्छन् ल्यान्डरोभर ।
यस्तै छ । चल्दै छ मज्जैले ।
देवाहाङले भदौमै बेचेको हो खच्चर । त्यसकै पैसाले किनेको हो सौराज । आजै मात्र ल्याइपुर्‍याएको हो गाउँमा ।
‘लेग्वादेखिन् दिक्तेलसम्मै भारी खेप्ने भन्दै थो अघिता,’ भनी लच्छीले ।
‘खेपोस् बांगेले !’ कान्छो उता फक्र्यो ।
‘हेर न जलेको !’ कान्छोको नजिकै गई लच्छी ।
०००
‘इस्पाल मकै नबिक्लाजस्तो छ,’ पारुमाले थाँक्रोतिर हेरिन् । चार कोठा थिए । पन्ध्र मुरी नघट्ला । भनिन्, ‘थाँग्रामै घुनले सक्ने भो ।’
‘कल्ले किन्छ ?’ भने देउमानले । केलाउँदै थिए चोया । कर्दको धारलाई छेवैको शिल–ढुंगोमा रगेटे एकपटक । हेरे थाँक्रोमा । थपे, ‘पैले पो देवाहाङको खच्चर थो र थाँग्रामै हान्थो । बेचेर टरक् किनिहालो । टरक्ले मकै खाँदैन ।’
‘तेई त,’ सही थपिन् पारुमाले । त्रिशुलेमाथिको डाँडोतिर हेरिन् । भनिन्, ‘उँभोखोलेहरू पुन् पो आङ्नु छोडो ।’
‘तिनारु पन् उइ त हो । सप्पैले मधेसको भात खान पाकै छ । किन आउँछ मकैको थ्याप्लो खोज्न ?’
‘तेई त,’ देउमानलाई हेरिन् पारुमाले । पहिले पातलो अस्कोट लाउँथे देउमान । बाक्लो ज्याकेट पो ओढेका रहेछन् । सिउनी उध्रिएको टोपी हुन्थ्यो शिरमा; भुवादार टोपी पो लाएका रहेछन् । घुँडा टालेको सुरुवाल लाउँथे; उलनको ट्राउजर पो रहेछ । खुट्टामा हुन्थ्यो पटकपटक छिनिँदै आगोमा पगालेर जोडेको फितावाला चप्पल; बाक्लो जुत्ता पो रहेछ । आपैँmले पनि त बाक्लो स्वेटर लाएकी रहिछिन् । उसै न्यानो भएर आयो झन् शरीरमा । भनिन्, ‘समय फेरिएछ आबो ।’
‘सस्तो पन् भो ।’
साँच्चै—
मकैको च्याँख्ला र कोदोको ढिँडो चल्न छोड्यो गाउँमा । पाक्न थाल्यो घरघरमा मधेसको चामल । मकै त बिक्री नै हुन छाड्यो । कोदोकै भाउ पनि घट्यो पोहोरभन्दा ।
नुनको भाउ पाहोरसम्म प्याकेटको चालिस थियो । यसपाला झर्‍यो बीसै रुपियाँमा । आधा नै सस्तो भो हात्तीब्रान्ड चामलको भाउ । चिनी उत्तिकै सस्तो भयो । सबै सामानको भाउ घट्यो परार–पोहोरभन्दा ।
सस्तैमा लाउन थालिए खासाका कपडा । खालखालका । डिजाइन–डिजाइनका । जोगमुनिका कुर्ता–सुरुवालहरू, साडीहरू पनि सस्तैको भाउमा पाइन थाले ।
अस्ति भर्खरै—
दुई हप्तासम्म ट्याक्टर कराएन गाउँमा । शून्य पो लाग्यो । फटटफटट गर्ने आवाज । ट्याँट्याँट् ट्याँट्याँट गर्दै कराउने हर्न । बुङ्बुङ्ती उड्ने धुलो । अहो ! बानी नै पो परिसकेछ ।
‘के भर ट्याक्टर आउन छोडो ?’ सोधी लच्छीले ।
‘ढाट थापेर हैरान पारो अरे नि त,’ भन्यो कान्छोले ।
‘हैन, कल्ले नि ?’
‘जल्ले पायो तेल्ले,’ तलको खेतका गराहरू हेर्‍यो कान्छोले । भन्यो, ‘कानुन भा पो त । मेस्पाङमै राखो अरे ! खोङ्टाली केटाहर्ले त खुखुरी नै देखायो अरे । हाम्रै धिबाङहर्ले पन् त राखेछ ।’
‘हो र ?’ लच्छी चुक्चुकाई । भनी त्यसले, ‘तेसोरी कसोरी हुन्छ ? आफ्नै ठाउँमा आउने । गाडी आएदेखिन् कस्तरी सस्तो भको छ !’
‘रामे माइला काकाहर्ले मार–बेस्सरी हकारेछ धिबाङहर्लाई । आज मेस्पाङसम्मै सप्पै जाने अरे ! पुलिस नै लाउने अरे अब !’
‘लाउनै परो नि मुर्दार्हर्लाई ।’
पहिले—
समूह–समूहमा थिए मान्छेहरू । सबै बाटोमा हुन्थे ।
अहिले—
आ–आफ्नै खेतबारीमा उखेल्दै छन् बन्सो, रत्नौलो र उदासे झार । खन्दै छन् सिरुको जराले खाइमार्दै लगेको छेउकुना । उखेल्दै छन् तीतेपाती र वनमाराले जितेका कान्लाहरू ।
(फिनिक्स बुक्सबाट प्रकाशोन्मुख मुकारुङको उपन्यास ‘दमिनी भीर’ को एक अंश)

प्रतिक्रिया