बालोटेली कुहिएको स्याउ : बर्लुस्कोनी

मिलान : इटालीका प्रधानमन्त्री तथा एसिमिलानका मालिक सिल्भिओ बर्लुस्कोनीले इंग्लिस क्लब म्यानचेस्टर सिटीका इटालियन स्ट्राइकर मारिओ बालोटेली कुहिएको स्याउ भएको बताएका छन् । जनवरी ‘ट्रान्सफर विन्डो’मा म्यान सिटीले बालोटेलीलाई एसिमिलानलाई बेच्ने चर्चाका बीच बर्लुस्कोनीले यससम्बन्धी हल्ला निराधार भएको बताएका हुन् । उनले २२ वर्षीय बालोटेली सानसिरो क्लबको ड्ेरसिङ रुममा ‘सेटल’ हुन नसक्ने पनि स्पष्ट पारे । यता, इटालियन फुटबल संघका अध्यक्ष जिआनकार्लो एबेटले बालोटेलीमा कुनै समस्या नरहेको बताएका छन् । बालोटेलीले इटालियन राष्ट्रिय टिममा रहेर जहिले पनि राम्रो व्यवहार प्रदर्शन गरेको उनको भनाइ छ । ‘मैले राष्ट्रिय टिमको सन्दर्भमा भन्दा बालोटेलीमा कुनै समस्या छैन । उनले टोलीमा जहिले पनि राम्रो व्यवहार गरेका छन्,’ एबेटले भने ।
प्रशिक्षक सेजार प्रान्डेलीका कारण इटालीको राष्ट्रिय फुटबल टिम ‘अफ द फिल्ड र अन द फिल्ड’मा सधैँ अनुशासित रहेको एबेटको दाबी छ । अनुशासनका कारण बालोटेली चर्चामा आइरहने गरेका छन् । यसै सम्बन्धमा दिक्क भएर म्यान सिटी बालोटेलीलाई बेच्ने सोचमा रहेको तथ्य पनि बाहिर आइसकेको छ ।
यसैबीच, एसिमिलानका उपाध्यक्ष एड्रिआनो गलिआनीले ब्राजिलियन मिडफिल्डर रोबिन्होलाई बेच्ने सोचमा क्लब नरहेको बताएका छन् । म्यान सिटीलाई रोबिन्होलाई दिएर एसिमिलानले बालोटेली भित्र्याउने चर्चा पछिल्लो समय चलेको थियो । उनले एसिमिलानले आफ्ना कुनै पनि स्ट्राइकरलाई नबेच्ने पनि स्पष्ट पारेका छन् । (एजेन्सी)

प्रतिक्रिया