स्वास्थ्यको लागि सक्षम प्रणालीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार

रुकुम पश्चिम । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) को स्वास्थ्यका लागि सक्षम प्रणालीकार्यक्रममार्फत रुकुम पश्चिमका ६ वटै पालिकामा सञ्चालन भएका प्राविधिक सहायताको पाँच वर्षे परियोजना सम्पन्न भएको छ । परियोजनाले स्वास्थ्य क्षेत्रमा पाँच वर्षभित्र जिल्लामा उल्लेखनीय सुधार ल्याएको दावी गरेको छ ।

परियोजना सम्पन्न भएको अवसरमा आयोजना गरिएको समापन कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा उक्त परियोजनाले उल्लेखनीय सुधार आएको जनाइएको छ । यो परियोजना संघीयताको परिप्रेक्ष्य स्थानीय तहमा मातृ नवजात शिशु, बाल स्वास्थ्य र परिवार नियोजन सेवाको पहुँच र गुणस्तर बढाउने उद्देश्यले पाँच वर्षअघि सञ्चालन गरिएको थियो ।

कोरोना–१९ महामारीको अवस्थामा यस कार्यक्रमले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि प्रदेशभर खोप, उपकरण, तालिम र पूर्वाधारलगायत योगदान दिएको यस कार्यक्रमका कर्णाली प्रदेशका बरिष्ठ प्राविधिक अधिकृत चंख विष्टले बताए । स्वास्थ्यसंस्थाहरूको निरीक्षण, स्वास्थ्य क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र सेवा प्रवाह र गुणस्तरमा सुधार ल्याएको बिष्टले जानकारी दिए बिष्टले जोखिमको समयमा होस या महामारीको बेला होस सधैँ स्थानीय सरकारको साथमा प्रतिबद्ध रहेको बताए ।

कोरोना महामारीको समयमा उक्त कार्यक्रममार्फत स्थानीय तहका स्वास्थ्यकर्मी तथा अस्पतालमा समेत प्राविधिक सेवाहरू प्रदान गरिएको थियो । कोरोनाको खोप कार्ड प्रमाणीकरणसम्बन्धी अभिमुखीकरण, नमुना संकलन, एन्टिजेन परीक्षणसम्बन्धी अभिमुखीकरण र स्वास्थ्य संकट एवं विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण पनि गरिएको थियो ।

यस कार्यक्रमले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्नेगरी पाँच वर्ष पहिले स्थानीय पालिकासँग सहकार्य गरेको थियो । सुरुआती चरणमा आठबिसकोटको स्वास्थ्य अवस्थाको विश्लेषण गरी आवश्यकताको पहिचानको आधारमा पालिकाका सवै स्वास्थ्य संस्था र नगरपालिका स्वास्थ्य शाखामा प्राविधिक सहयोग गरिएको थियो । साथै जिल्लामा स्वास्थ्यको प्राविधिक समूहमा रहेर पुरै अवधि काम गरेका थिए भने पालिकामा एक जना स्वास्थ्य प्रणाली अधिकृत रहेर पछिल्नो एक वर्ष काम गरेका थिए ।

परियोजनाले आठबिसकोटको घेत्मा, गोतामकोट र आठबिसडाँडागाउँको स्वास्थ्यचौकीमा सामाजिक परीक्षण, आधारभूत स्वास्थ्यसेवा सुढृढीकरण, खरिद र पुर्वानुमान तालिम, वार्षिक अर्धवार्षिक तथा मासिक स्वास्थ्य कार्यक्रम समीक्षा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम र आठबिसकोट नगर अस्पतालमा टेलिमेडिसिन सेवा सुधार र एसबिए र परिवार नियोजन तालिम र नवजात कर्नर स्थापनामा सहयोग गरेको छ ।

बिष्टका अनुसार आठबिसकोट नगरपालिकालगायत कर्णाली प्रदेशका सबै जिल्लाका सबै पालिकाहरूमा पनि संस्थाले पाँच वर्षभित्र महत्वपूर्ण योगदान दिएको छ । यस परियोजनाले राम्रो र प्रभावकारी काम गरेको सरोकारवालाहरूले समेत बताएका छन् ।

सहकार्य सकिएपछि एक कार्यक्रममार्फत आठबिसकोट नगरपालिकाले कार्यक्रमका प्रमुख तथा प्रतिनिधिलाई बिदाइ र सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा SSBH बाट आठबिसकोट नगरपालिकालाई दुई वटा ल्यापटप, ग्यास सिलिन्डरलगायत स्वास्थ्यसंस्थालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।

परियोजनाले स्वास्थ्यका नीति, ऐन तथा निर्देशिका बनाउने प्रक्रियामा सहयोग गरेको र समग्र स्वास्थ्य प्रणाली सुधारमा सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले बताए । बिदाइ कार्यक्रममा नगरप्रमुख रवि केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहलगायत वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया