सौर्यद्वारा शान्तिराम स्मृति पुरस्कार स्थापना

काठमाडौं । नेपाल पत्रकार महासंघ सौर्य प्रतिष्ठान शाखाले सौर्य व्यवस्थापनको सहकार्यमा शान्तिराम कार्की स्मृति पुरस्कारको स्थापनाको घोषणा गरेको छ । आइतबार सम्पन्न संस्थाको १२औं वार्षिकोत्सवमा प्रतिष्ठान शाखा अध्यक्ष ईश्वरी काफ्लेले सो घोषणा गरेका हुन् ।

सौर्य शाखाको यो घोषणाको प्रशंसा गर्दै प्रधानसम्पादक बोधराज त्रिपाठीले पुरस्कार रकम तथा कार्यक्रम आयोजना खर्च सस्थाले व्यहोरिदिने घोषणा गरे । उनले भने ‘मानिस जन्मेपछि मर्छ, यो प्रकृतिको स्वभाविक चक्र हो । तर कोही मर्दा झझल्को आइरहने हुन्छ सौर्यका लागि शान्तिराम यस्तै भएको छ ।’ उनले थपे ‘आँखामा राखे पनि नविझाउने स्वभावका थिए शान्तिराम ।’

पुरस्कारको रकम न्यूनतम २५ हजार र प्रमाणपत्र हुने सम्पादक त्रिपाठीले जानकारी दिए । सो पुरस्कार स्थापनाको घोषणा गर्दै शाखा अध्यक्ष काफ्लेले पुरस्कार हरेक वर्षको फागुन ७ अर्थात सौर्य दैनिकको वार्षिकोत्सवका दिन समर्पण गरिने बताए । शाखा कार्यसमितिको वैठक बसेर यसको मापदण्ड निर्धारणलगायतका निर्णय गर्ने उनको भनाई थियो ।

स्व. पत्रकार शान्तिराम कार्कीको कोरोनाका कारण २०७८ जेठ १ गते ३४ वर्षको अल्पायुमै मनमोहन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनी लामो समयदेखि मृत्यु हुँदासम्म सौर्य दैनिकमा उपसम्पादककोरूपमा कार्यरत् थिए ।

प्रतिक्रिया