जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते

पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस कालीगण्डकीमा खसेर दुर्घटना भएको छ । ना ७ ख ७४४० नम्बरको उक्त बस मुस्ताङ थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो ।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धार हुँदा ठूलो क्षति हुन नपाएको उनले बताए ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया