धनगढी । कैलाली भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन । भन्सार कार्यालयले चालु आवको माघ मसान्तसम्मको लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो । राजस्व संकलनमा चालु आवका सात महिनामा कुनै पनि महिना राजस्व संकलन लक्ष्यमा पुग्न सकेको छैन । चालु आवमा माघ मसान्तसम्म ६ अर्ब ८४ करोड ५४ लाख लक्ष्य रहेकोमा ४ अर्ब ५३ करोड ५० लाख मात्रै राजस्व असुली भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार चालु आवको साउन महिनामा ७३ करोड १३ लाख लक्ष्य रहेकोमा ५३ करोड ८५ लाख, भदौमा ९१ करोड ४४ लाख लक्ष्य रहेकोमा ५८ करोड ७४ लाख र असोजमा ९७ करोड २४ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ५७ करोड ३० लाख मात्रै राजस्व संकलन भएको छ ।
त्यस्तै कात्तिक महिनामा १ अर्ब १ करोड ७४ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ७६ करोड ३७ लाख, मंसिरमा १ अर्ब ४ करोड ४४ लाख लक्ष्य रहेकोमा ६९ करोड ९१ लाख, पुसमा १ अर्ब १२ करोड ६३ लाख लक्ष्य रहेकोमा ७० करोड ८ लाख र माघ महिनामा १ अर्ब ३ करोड ८८ लाख लक्ष्य रहेकोमा ६७ करोड २१ लाख मात्रै राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
चालु आवमा कार्यालयको वार्षिक राजस्व संकलनको लक्ष्य १२ अर्ब ३० करोड ६६ लाख रहेको छ । चालु आवका सात महिनामा अर्थात माघ महिनासम्म ४ अर्ब ५३ करोड ५० लाख मात्रै राजस्व संकलन भएको छ जुन वार्षिक लक्ष्यको ३६ दशमलव ८५ प्रतिशत मात्र हो ।
गत आव ०७८÷७९ मा पनि कुनै महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन । गत आव ०७८÷७९ मा कार्यालयको ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकोमा ९ अर्ब ५८ करोड २६ लाख मात्रै राजस्व संकलन भएको थियो । जुन लक्ष्यभन्दा झण्डै १९ प्रतिशत कम अर्थात ८१ दशमलव शून्य ४ प्रतिशत मात्रै राजस्व असुली भएको थियो ।
राष्ट्र बैंकले गरेको डिपोजिटको व्यवस्था, आयात निर्यातको कमी, बैंक वित्तीय संस्थाहरूको लगानी ठप्प हुनु लगायतका कारणले राजस्व संकलनमा कमी आएको सूचना अधिकारी खड्काले बताए । उनले भने आयातमा पनि कमी छ, यसअघि कोरोना महामारीका कारण ठप्प भएका व्यवसाय पनि पुनःसञ्चालन हुन सकेका छैनन्, आयातमा पनि कमी आएको छ, पेट्रोलको आयातमा पनि कमी छ ।
कैलाली
प्रतिक्रिया