कालिकोटमा जनयुद्ध दिवस मनाइयो

कालिकोट । कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ । २८औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसहित भातृ संगठनहरुले विभिन्न कार्यक्रमहरु गरेका छन् । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा पनि विभिन्न कार्यक्रम गदै जनयुद्ध दिवस मनाइएको हो ।

कालिकोट जिल्लाको सदमुकाम मान्ममा २८औँ जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरी मनाइएको हो ।
‘समाजवाद उन्मुख समृद्धिको बाटोमा अघि बढौँ’ भन्ने मुल नाराका साथ दिवस मनाइएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विद्यार्थी नेता मनसिंह शाहीले बताए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद चौलागाइँको अध्यक्षता, माओवादी केन्द्रका प्रदेश कर्णाली कमिटी सचिव तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्य तथा खाडाचक्र नगरपालिकाका उपप्रमुख एवं माओवादीका नेता गणेश शाहीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी कालिकोटले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीहरुलाई फलफूल वितरण गरेको छ ।

अखिल क्रान्तिकारी नेपालका केन्द्रिय सदस्य मनसिंह शाही, जिल्ला कमिटी उपाध्यक्ष खगेन्द्र मल्ल, सिटिईभिटी जिल्ला संयोजक अरुण केसी, तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटका इकाई अध्यक्ष सीमा शाही, सचिव संगीता मल्ललगायतका विद्यार्थी नेताहरुको सहभागितामा फलफूल वितरण गरिएको हो ।

नेकपा माओवादी केन्द्र कालिकोटको पार्टी कार्यालय नजिकै जनयुद्ध दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको छ । यस्तै जनयुद्ध दिवसकै अवसरमा दिप प्रज्वलनसहित अन्य कार्यक्रमहरु रहेका छन् । जिल्लाको महावै गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा महावै आधारभूत स्वास्थ्य अस्पतालको परिसरमा वृक्षारोपण गरी दिवस मनाइएको महावै गाउँपालिकाका अध्यक्ष एवं माओवादी केन्द्रका युवा नेता खेमबहादुर सिंहले जानकारी दिए ।

सिंहले जनयुद्ध दिवस उपलब्धीको रुपमा लिन सकिने भन्दै जनयुद्धका बाँकी कामहरु पूरा गर्न आफू र आफ्नो मातहतका नेता, कार्यकर्ताहरु महावै गाउँपालिकामा लागिपर्ने बताए । सिंहले जनयुद्धको बेला परिवर्तनका लागि ज्यान गुमाएका सहिदप्रति गहिरो सोक राख्दै सहिदका सपना पूरा गर्न र २०५२ साल यताका उपलब्धीहरु नेकपा माओवादी केन्द्रको पहलमा भएको बताए ।

सदमुकाम मान्ममा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले माओवादी पार्टीले परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताए । माओवादी आन्दोलनका कारण दलित, महिला, जनजाती, निमुखा वर्गले न्याय पाएको दिनकोरूपमा यस दिनलाई सम्झन सकिने शुभकामना दिने सहभागीको भनाई थियो ।

कार्यक्रममा माओवादी केन्द्र कालिकोटका नेता कार्यकर्ता, नागरिक समाजलगायतका सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रको सञ्चालन माओवादीका युवा नेता तथा खाडाचक्र नगरपालिका– ४ का वडाध्यक्ष प्रभान्द आचार्यले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया