महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको सभागृह (सिटी हल) प्रयोगविहीन बनेको छ । ०७५ सालमा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीनतले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम र अन्डरग्राउन्ड पार्किङको सुविधा पनि छ ।
सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोग गर्नुपरेको स्थानीयको गुनासो छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरिएको सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ ।
नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो सो उद्देश्य बमोजिम प्रयोगमा आउन नसकेको बताए । ‘अहिले नगरपालिकाले भूमिहीन र सुकुम्बासीहरूको लगत लिने एकाइका रूपमा सञ्चालन गरिराखेका छौँ’, उनले भने, ‘यसका लागि छुट्टै कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी गरेका छाैँ ।’ उक्त सभागृह सञ्चालनका लागि नगरपालिकासँग ठोस कार्ययोजना नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
हालसम्म नगरपालिकाले सभागृह सञ्चालनका लागि आवश्यक मापदण्ड नै तयार गर्न सकेको छैन । स्थानीय कृष्ण भट्टले राज्यको करोडौँ रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्नेे बताए । ‘महेन्द्रनगरमा कुनै कार्यक्रमको आयोजना गर्नुपर्यो भने चर्को शुल्क तिरेर होटेलमा जानुपर्ने बाध्यता छ’, उनले भने, ‘नगरपालिकाले कार्यविधि बनाएर तत्काल सभागृह सञ्चालनमा ल्याउनुपर्छ ।’
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ । अपांगमैत्री सभागृह एक हजार जना अटाउने क्षमताको छ । यहाँका स्थानीयले भने सभागृह जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोजनमा ल्याउनुपर्ने बताएका छन् ।
‘सभागृहमा अन्य कार्यालय सञ्चालन गर्नुभन्दा जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोगमा ल्याउनुपर्छ’, स्थानीय नरेश पाण्डेयले भने, ‘सभागृह महेन्द्रनगरको आवश्यकता भएरै निर्माण गरिएको हो, हालसम्म सञ्चालनमा आउन नसक्नु दुःखद् हो ।’
०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदाको लागत अनुमान र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम १ करोड ७० लाख बढाएर ८ करोड ५१ लाखमा सभागृह निर्माण सम्पन्न भएको थियो ।
प्रतिक्रिया