तिलागुफा नगरपालिकाको १२औँ नगरसभा उद्घाटन

कालिकोट । तिलागुफा नगरपालिकाको हिउँदे नगरसभा उद्घाटन भएको छ । नगरपालिकाकाले ११औँ नगरसभामा गरेका निर्णय तथा बजेटको समिक्षासँगै आगामी दिनमा गरिने क्रियाकलाप बारे जानकारी र प्रगती प्रतिवेदनसमेत पेश गरिएको हो ।

चालु आर्थिक वर्ष २०७९–०८० मा नगरपालिकाको वार्षिक बजेटले लिएका उद्देश्य माथि नगर उप प्रमुख महेन्द्र बहादुर शाहीले प्रष्ट पादै नगरवासीहरुको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दे जाने, आर्थिक भौतिक, सामाजिक र वातावरणीय क्षेत्रमा दीगो पूर्वाधार विकास मार्फत समुन्नत र सुदृढ नगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउने लक्ष्य रहेको शाहीले बताए ।

उपप्रमुख शाहीले उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गर्दे सन्तुलित र न्यायोचित वितरण गर्ने ,विकास सहयात्रीहरु सँगको निरन्तर सहकार्य मार्फत रोजगारीका अवसरहरु सिर्जना गर्ने, रोजगारी श्रृजना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा मौलिक हकको रुपमा रहेको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने नगरपालिकाको लक्ष रहेको बताए ।

चालु आर्थिक वर्षमा शिक्षा,यूवा तथा खेलकूद विकास, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई विकास, पशु तथा कृषि विकास, वन, वातावरण, सरसफाई एवं हरियाली तथा विपद् व्यवस्थापन, सहकारी तथा रोजगार प्रवद्र्धन, यूवा तथा खेलकूद र सूचना प्रविधि र डिजिटल सेवा प्राथमिकतामा रहेको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०७९–०८० मा संघीय सरकार, प्रदेश सरकार, र नगरपालिकाको आन्तरिक श्रोतबाट एघारौँ सभाले प्रक्षेपण गरेको कुल बजेट ६१ करोड ९० लाख ८४ हजार ५ सय ७ रुपैयाँ मात्रको श्रोत अनुमानबाट चालु खर्च तर्फ ५९ करोड ८४ हजार ५सय ३७ रुपैयाँ तथा पूुजीगत खर्च तर्फ २ करोड ९० लाख विनियोजन गरिएको थियो ।

संघीय सरकारबाट समानीकरण एघार करोड २९ लाख, राजस्व बाँडफाँड आठ करोड ९६ लाख , सशर्त अनुदान चौबीस करोड पाँच लाख पचास हजार, समाजिक सुरक्षातर्फ आठ करोड ६२ लाख ६ हजार रहको उपप्रमुख शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा छ ।

प्रदेश सरकार समानीकरण एक करोड तेह्र लाख अन्ठानब्बे हजार, सशर्त अनुदान दुई करोड ३१ लाख ६० हजार, सम्पूरक अनुदान रकम एक करोड, विशेष अनुदान ५८ लाख ८६ हजार रहेको छ । नगरपालिकाको आन्तरिक आय श्रोत अल्यासहित रु ४ करोड ९३ लाख ८२ हजार २ सय ५८ रुपैयाँ गरी जम्मा संघीय सरकार, प्रदेश सरका तथा आन्तरिक आय गरी थप अख्तियारी प्राप्त बजेटसमेत गरी कूल रकम ६२ करोड ९५ लाख ३० हजार दुई सय ५८ रुपैयाँ ३९ पैशा मात्र रहको छ ।

एघारौँ नगरसभाले लक्षित गरेका क्षेत्रगत नीति तथा कार्यक्रमहरुलाई हालको मितिसम्म करिब ३५ प्रतिशत वित्तिय प्रगति र ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । १२औँ नगरसभा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्य, नगरप्रमुख शंकरप्रसाद उपाध्यायको अध्यक्षता तथा अन्य सरोकारवालाहरुको सहभागितामा नगरसभा उद्घाटन गरिएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया