खाद्यान्न सहयोगबाट स्थानीय वञ्चित

चरिकोट, १२ पुस । उत्तरी सिमानाका स्थानीयलाई चीन सरकारले दिएको खाद्यन्न अझैसम्म पनि लप्चीवासीले पाएका छैनन् । चौँरीबाट मात्रै जीविकोपार्जन गरिरहेका उनीहरूले खाद्यान्न पाउन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

चीनले सुरक्षाका कारण सीमाक्षेत्रमा आपराधिक क्रियाकलाप बढेको भन्दै कडाइ गरेपछि किनमेल गर्नसमेत कठिनाइ भएको छ । नेपाल आउन कठिन बाटो भएकाले बजारका लागि तिब्बतको कुत्ती र फलाकको भर परिरहेका स्थानीयले नाका कडाइ गरेपछि दैनिक उपभोग्य सामानको अभाव झेलिरहेका छन् ।
सदरमुकाम चरिकोटबाट ६८ कोसक टाढा लामाबगर पर्छ । त्यत्तिकै दूरीमा लामाबगरकै वडा–१ को लप्ची गाउँ पर्छ । करिब चार हजार मिटरको उचाइमा पर्ने लप्चीमा १८ घरधुरीका एक सय २० जनाको जनसंख्या रहेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा आएर प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई खाद्यान्न समस्या परेको जानकारी दिएको समेत स्थानीयले बताए ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निर्माणाधीन सडकको ट्रयाक चाँडो खोल्न पहल गर्ने, लप्चीवासीका मागलाई र माथिल्लो तामाकोसीका अधिकारीसँग बसेर छलफल गरी निकासमा पुग्ने बत्ताए । तर, लप्चीवासीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित उच्च अधिकारी जिल्ला आउँदासमेत समस्या बताए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध बनेपछि यो बाटो झनै जोखिममा पर्ने उनीहरूको भनाइ छ । लामाबगरदेखि तिब्बती सिमाना ङ्याङलुङसम्म १३ किलोमिटर दूरी छ । त्यसमध्ये तीन किलोमिटर माथिल्लो तामाकोसीको बाँध प्रभावित क्षेत्र हो । सडक डिभिजन कार्यालय चरिकोटले नौ किलोमिटर सडकको टेन्डर गरेर सडक निर्माण सुरु गरे पनि २ किलोमिटरको पनि ट्रयाक खोलिएको छैन ।
ठेकेदारले सडकको काम नगरेपछि सडक कार्यालयले पटक–पटक ताकेता गर्दे आएको छ । जिल्लास्थित सर्वदलीय बैठकले समेत अहिलेका ठेकेदारले दुई महिनाभित्र आफ्नो काम पूरा नगरे ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने निर्णय गरेको छ । तीन वर्षदेखि काम नहुँदा सडकको १२ करोड रुपियाँ फ्रिज भइसकेको छ ।
स्थानीय विकास अधिकारी टुकराज पोखरेलले नेपालतर्फबाट ढुवानी गर्नुभन्दा तिब्बती बजारमै चामल सस्तो पर्ने हँुदा चामलको विकल्प खोजिरहेको बताए । लामाबगर लैजानलाई पनि आफूलाई लहरमा समाउँदै ज्यान जोखिममा राखेर आउनुपरेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया